काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई हालसम्म २३ अर्ब ४६ करोड २१ लाख ८६ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ। बोर्डले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २०८२ साल मंसिर मसान्तसम्मका सबै दाबीको भुक्तानी फर्छ्योट गरिएको जानकारी दिएको हो।
बोर्डका अनुसार मंसिरपछि प्राप्त भएका दाबीको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।
सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले सेवा प्राप्त गरिरहेको उल्लेख गर्दै बोर्डले उपचार सेवामा कुनै प्रकारको अवरोध सिर्जना नगर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बीमित नागरिकलाई निर्धारित मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्थासँग सहकार्यको अपेक्षा गरेको छ।
साथै, बीमित नागरिकलाई स्वास्थ्य बीमाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको बोर्डले जनाएको छ।

प्रतिक्रिया