सकसमा बागमती प्रदेश सरकार

आन्तरिक किचलोबीच बागमतीमा बजेट पारित गराउने कांग्रेसको रणनीति, सांसदलाई जारी गर्यो तीन लाइन ह्विप

शनिबार, २० असार २०८३, १३ : ०८

हेटौँडा- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यहरूलाई तीन लाइन ह्विप जारी गरेको छ। कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई लक्षित गर्दै ह्विप जारी गरेका हुन्। ह्विपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने भएकाले सबै सांसदलाई उपस्थित हुन, तटस्थ नबस्न र विधेयकको पक्षमा मत दिन भनिएको छ।

पछिल्ला केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामा समूहबीच बजेट तथा सरकारको नेतृत्वलाई लिएर विवाद चर्किएको थियो। लामा पक्षधर केही सांसद प्रदेशसभा बैठकमा अनुपस्थित रहँदै आएका थिए भने बजेट पारित प्रक्रियामा असहयोग गर्ने संकेतसमेत दिएका थिए।

कांग्रेसले तीन लाइन ह्विप जारी गरेसँगै पार्टीभित्रको विवाद तत्कालका लागि व्यवस्थापन गर्दै बजेट पारित गराउने प्रयास गरेको देखिएको छ। शनिबार बस्ने प्रदेशसभा बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ।

शनिबार, २० असार २०८३, १३ : ०८

प्रतिक्रिया