रोटरी डिस्ट्रिक्ट ३२९२ को नेतृत्व विष्णुबहादुर कार्कीलाई, सेवा र नेतृत्वलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

शनिबार, २० असार २०८३, १४ : ५६

काठमाडौँ- रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान) को रोटरी वर्ष २०२६/२७ का लागि रोटेरियन विष्णुबहादुर कार्कीले डिस्ट्रिक्ट गभर्नरको पदभार ग्रहण गरेका छन्। राजधानीस्थित होटल याक एण्ड यतीमा आयोजित भव्य ‘इन्स्टलेशन’ समारोहबीच उनले औपचारिक रूपमा आफ्नो कार्यकाल प्रारम्भ गरेका हुन्।

रोटरी इन्टरनेशनलका डिरेक्टर (२०२७–२०२९) रोटेरियन बासुदेव गोल्यानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल र भुटानका १६५ वटा रोटरी क्लबका ४६० भन्दा बढी रोटेरियन तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पदभार ग्रहणपछि सम्बोधन गर्दै नवनियुक्त डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरीको मूल मन्त्र ‘सेवा नै धर्म’ लाई आत्मसात् गर्दै संस्थालाई अझ प्रभावकारी, समावेशी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरी क्लबहरूलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने, सेवामूलक परियोजनाहरूलाई दिगो र प्रभावकारी बनाउने तथा युवाहरूलाई रोटरीका विभिन्न कार्यक्रममार्फत नेतृत्व र सेवामा जोड्ने आफ्नो प्राथमिकता रहेको बताए। साथै, रोटरी फाउन्डेसनमार्फत समुदायमा अर्थपूर्ण र दीर्घकालीन परिवर्तन ल्याउन विशेष जोड दिइने उनको भनाइ थियो।

गभर्नर कार्कीले क्लब अध्यक्षहरूको भूमिकाको उच्च प्रशंसा गर्दै उनीहरू नै रोटरीका मेरुदण्ड भएको उल्लेख गरे। संस्थाको दृष्टि, उद्देश्य र योजनालाई समुदायस्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी क्लब अध्यक्षहरूको काँधमा रहेको बताउँदै उनले नवनियुक्त अध्यक्षहरूको सक्रिय नेतृत्वमा यस वर्ष रोटरीले सेवाका नयाँ उचाइहरू हासिल गर्ने विश्वास व्यक्त गरे।

समारोहका प्रमुख अतिथि रोटेरियन बासुदेव गोल्यानले नवनियुक्त डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै रोटरीका सम्पूर्ण सदस्यहरूलाई नयाँ उत्साह, एकता र साझा उद्देश्यका साथ मानव सेवामा समर्पित हुन आह्वान गरे। उनले रोटरीका मूल्य, सेवा र नेतृत्वलाई अझ सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तनका अभियानलाई निरन्तर अघि बढाउन सबै रोटेरियनहरूको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।

शनिबार, २० असार २०८३, १४ : ५६

प्रतिक्रिया