काठमाडौं- नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ।
पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थालाई केवल व्यवसायिक सञ्जालमा सीमित नराखी युवा उद्यमीहरूले मार्गदर्शन, सहकार्य, अवसर र अपनत्व महसुस गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
उनले उद्यमशीलता व्यवसाय सञ्चालनको माध्यम मात्र नभई रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन, सामाजिक समस्या समाधान तथा नेपालको दीर्घकालीन आर्थिक समृद्धिको प्रमुख आधार भएको उल्लेख गरे। आर्थिक संक्रमणका बेला नयाँ सोच, नवप्रवर्तन र दूरदर्शी नेतृत्वको आवश्यकता अझ बढेको भन्दै युवा उद्यमीहरूलाई परिवर्तनका संवाहक र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपालको आर्थिक रूपान्तरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले जनसांख्यिक लाभलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनामा युवालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। नीति निर्माता र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा उद्यमीहरू नेपालको आर्थिक भविष्यका प्रमुख आधार भएको बताए। उनले नेपाली युवाको सिर्जनशीलता, प्रविधिमैत्री सोच, विश्वव्यापी दृष्टिकोण र जोखिम उठाउने क्षमताले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै, महासंघले युवा उद्यमशीलता, नवप्रवर्तन, वित्तीय पहुँच, मार्गदर्शन तथा व्यवसायिक सञ्जाल विस्तारका क्षेत्रमा एनवाईईएफसँग सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
साधारण सभामा उद्यमशीलता विकास, स्टार्टअप प्रवर्द्धन, नवप्रवर्तन, नेतृत्व विकास तथा निजी क्षेत्र र नीति निर्माताबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष अनुभव श्रेष्ठ, निवर्तमान अध्यक्ष अप्पा शेर्पा, प्रथम उपाध्यक्ष सन्दीप शर्मा, द्वितीय उपाध्यक्ष सौरभ श्रेष्ठ तथा कार्यसमिति सदस्यहरूमा सायन प्रजापति, सन्तोष पाण्डे, आश्लेषा कार्की, छेची शेर्पा, सुरक्षा अधिकारी, इच्छा मल्ल, अमृताञ्जली शाक्य, निखिल अग्रवाल, श्रेया गिरी, श्यारोन अधिकारी र प्रियान्शी जालान रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा युवा उद्यमशीलता प्रवर्द्धन, नवप्रवर्तनको विकास, जिम्मेवार व्यवसायिक नेतृत्वको प्रवर्द्धन तथा नेपालभरका युवा उद्यमीका लागि थप अवसर सिर्जना गर्न सक्रिय रूपमा काम गर्ने जनाएको छ।
प्रतिक्रिया