सय दिनमा के बदलियो ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो १०० दिन: आर्थिक सुधार, डिजिटल सेवा र सुशासनमा के-के भए उपलब्धि ?

आइतबार, २१ असार २०८३, १४ : २६

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको पहिलो १०० दिनमा आर्थिक सुधार, कानुनी तथा नीतिगत परिवर्तन, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण, वैदेशिक सहायता परिचालन र लगानी प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय प्रगति भएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा आर्थिक सुधारलाई तीव्रता दिँदै १५ वटा कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको, राजस्व अनुसन्धान विभाग खारेज गरिएको, विभिन्न आर्थिक तथा वित्तीय कानुन संशोधन गरिएका र वैकल्पिक विकास वित्त परिचालन ऐन तर्जुमा गरिएको छ। साथै १२० स्थानीय तहबाट स्थायी लेखा नम्बर (प्यान) सेवा उपलब्ध गराइएको, घरबाटै पेन्सन प्रमाणीकरण गर्न सकिने विद्युतीय प्रणाली सञ्चालनमा ल्याइएको तथा आन्तरिक राजस्व र भन्सार सेवामा डिजिटल प्रणाली विस्तार गरिएको छ।

त्यस्तै, विश्व बैंकलगायत विकास साझेदारसँग सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता सम्पन्न भएको, लगानी प्रवर्द्धनका लागि विभिन्न देश र बहुराष्ट्रिय कम्पनीसँग संवाद अघि बढाइएको तथा गोरखकाली रबर उद्योग, हेटौंडा सिमेन्टलगायत सार्वजनिक संस्थानको पुनर्संरचना प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यी कदमबाट आर्थिक सुधार, सुशासन, सार्वजनिक सेवा प्रवाह र लगानीको वातावरण सुदृढ भएको दाबी गरेको छ।

आइतबार, २१ असार २०८३, १४ : २६

प्रतिक्रिया