प्युठानमा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघको प्रथम जिल्ला भेला सम्पन्न, १५ सदस्यीय जिल्ला समिति गठन

सोमबार, २२ असार २०८३, ०७ : १६

प्युठान- राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, प्युठान जिल्ला समितिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले कमलराज रिजालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु गिरी प्रमुख अतिथि तथा महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

भेलामा महासंघकी केन्द्रीय उपाध्यक्ष जानका केसी, बिजुवार खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं वडा अध्यक्ष, लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष, महासचिव, सचिव तथा प्युठान जिल्लाका विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णु गिरीले खानेपानी उपभोक्ता समितिहरूको सुदृढ संगठनले स्थानीय सरकार र उपभोक्ताबीच समन्वयलाई थप प्रभावकारी बनाउने बताए। स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउनु राज्यको दायित्व भए पनि उपभोक्ता समितिहरूले खानेपानी आयोजना सञ्चालन तथा व्यवस्थापनमार्फत सरकारलाई महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको उनको भनाइ थियो।

विशिष्ट अतिथि तथा महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले उपभोक्ता संस्थालाई कमजोर बनाउने वा खारेज गर्ने प्रकृतिका कानुनी व्यवस्था फिर्ता लिन सरकारसँग माग गरे। उनले खानेपानी क्षेत्रमा उपभोक्ता समितिहरूले सरकारको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता संस्थाको भूमिकालाई थप सशक्त बनाउनुपर्ने धारणा राखे।

ओलीले विद्युत् महसुल, ब्याजदर तथा जनसहभागितासम्बन्धी विद्यमान नीतिका कारण खानेपानी उपभोक्ता समितिमाथि अतिरिक्त आर्थिक भार परेको उल्लेख गर्दै उपभोक्तामैत्री र जनहितमुखी नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरे। जनताको हितविपरीत हुने कुनै पनि निर्णय आए महासंघले सशक्त रूपमा विरोध गर्ने चेतावनीसमेत उनले दिए।

कार्यक्रमका अन्य वक्ताहरूले खानेपानी उपभोक्ता समितिहरूको संस्थागत सुदृढीकरण, आपसी समन्वय तथा उपभोक्तामैत्री नीतिको आवश्यकता औंल्याउँदै खानेपानी सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकार र उपभोक्ता संस्थाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

सोमबार, २२ असार २०८३, ०७ : १६

प्रतिक्रिया