समस्या समाधान गर्न सरकार तयार

प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग छलफल, लगानी र उद्योगमैत्री वातावरण बनाउने प्रतिबद्धता

बुधबार, २४ असार २०८३, १६ : ०६

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग–व्यवसाय, लगानी वातावरण र आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले आर्थिक गतिविधि चलायमान बनाउने, उद्योग सञ्चालन सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा नीतिगत अवरोध हटाउने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई आर्थिक विकास, रोजगारी सिर्जना र उत्पादन वृद्धिको प्रमुख साझेदारको रूपमा उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिले लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सुधार र सरकार–निजी क्षेत्रबीच नियमित संवादको आवश्यकता औँल्याएका थिए। प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई कार्यान्वयनका लागि सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण गरिने विश्वास दिलाए।

बुधबार, २४ असार २०८३, १६ : ०६

प्रतिक्रिया