काठमाडौं- एएसी (AAC) ब्लक उत्पादनमा सक्रिय मेची इन्डस्ट्रिज लिमिटेडले भारतको प्रविधि प्रदायक कम्पनी लक्ष्मी इन–फ्याब प्राइभेट लिमिटेडसँग उत्पादन क्षमता विस्तारका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ। कम्पनीले यससँगै तीनवटा अन्तर्राष्ट्रिय आईएसओ (ISO) प्रमाणपत्र पनि प्राप्त गरेको जनाएको छ।
सम्झौताअनुसार मेची इन्डस्ट्रिजले मासिक ५ हजार क्युबिक मिटर एएसी ब्लक उत्पादन क्षमता थप गर्नेछ। साथै उत्पादन विविधीकरण गर्ने योजनाअन्तर्गत मोटार एडेसिभ, रेडिमिक्स प्लास्टर, टाइल एडेसिभ र वाल पुट्टी उत्पादनका लागि आवश्यक आधुनिक प्लान्ट तथा उपकरण खरिद गर्ने निर्णय गर्दै सम्बन्धित आपूर्तिकर्तासँग खरिद सम्झौता पनि सम्पन्न गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नेपाल–भारतबीचको यो औद्योगिक सहकार्यले निर्माण क्षेत्रमा अत्याधुनिक प्रविधि, उत्पादन क्षमता विस्तार तथा दिगो विकासलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।
यसैबीच मेची इन्डस्ट्रिजले गुणस्तर, वातावरणीय व्यवस्थापन तथा व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी तीन अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले ISO 9001:2015 (गुणस्तर व्यवस्थापन प्रणाली), ISO 14001:2015 (वातावरणीय व्यवस्थापन प्रणाली) र ISO 45001:2018 (व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणाली) को मान्यता हासिल गरेको हो।
कम्पनीका अध्यक्ष पवन घिमिरेले यी प्रमाणपत्रले कम्पनीको गुणस्तरीय उत्पादन, संस्थागत सुशासन, वातावरणीय जिम्मेवारी तथा सुरक्षित कार्यस्थलप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिएको बताएका छन्।
उनका अनुसार कम्पनीले आगामी दिनमा पनि निरन्तर सुधार, वातावरणमैत्री औद्योगिक अभ्यास, नवप्रवर्तन र गुणस्तरीय उत्पादनमार्फत राष्ट्रिय औद्योगिक विकासमा योगदान पुर्याउने लक्ष्यका साथ काम गर्नेछ।
प्रतिक्रिया