दाङ– तुलसीपुर उपमहानगरपालिका–११, जसपुर निवासी तथा लिलानिधि सन्तति समाजका सदस्य पदमप्रसाद आचार्यले आफ्नी ममतामयी माता स्वर्गीय रुक्मिणादेवीको स्मृतिमा स्थापना गर्नुभएको ‘रुक्मिणादेवी स्मृति प्रतिभा पुरस्कार’ यस वर्ष एक भव्य समारोहका बीच वितरण गरिएको छ।
शनिबार आयोजित कार्यक्रममा शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार यस वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेका तुलसीपुर उपमहानगरपालिका–१९, बिजौरी निवासी प्रबोधन सुवेदीलाई प्रदान गरिएको हो। प्रबोधन कपिलदेव सुवेदी र बुद्धिमती सुवेदी (बिन्दु) का कनिष्ठ सुपुत्र हुन्।
समाजका अध्यक्ष कुलराज अधिकारी र पुरस्कारका संरक्षक पदमप्रसाद आचार्यले संयुक्त रूपमा प्रबोधन सुवेदीलाई सम्मानपत्रसहित नगद रु। ५,१०० प्रदान गर्नुभएको थियो। पुरस्कार ग्रहण गर्दै सुवेदीले प्राप्त सम्मानले आगामी अध्ययन तथा जीवनमा अझ राम्रो गर्न प्रेरणा मिलेको बताएका थिए।
करिब एक सय जना समाजका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा समाजका सल्लाहकार तथा पूर्व संविधानसभा सदस्य नारायण अधिकारीको स्वागत मन्तव्यबाट कार्यक्रमको शुभारम्भ भएको थियो। उनले शिक्षा नै समाज रूपान्तरणको आधार भएकाले प्रतिभाशाली विद्यार्थीलाई सम्मान गर्ने कार्य अत्यन्तै प्रशंसनीय भएको धारणा व्यक्त गरे।
कार्यक्रममा पुरस्कार छनोट उपसमितिका संयोजक नारायणकुमार आचार्यले पुरस्कार छनोट प्रक्रिया तथा यसको उद्देश्यबारे जानकारी गराएका थिए। त्यसैगरी, लेखा संयोजक हेमराज अधिकारीले पुरस्कार कोषको आर्थिक अवस्था र व्यवस्थापनबारे जानकारी प्रस्तुत गरेका थिए।
समाजका सल्लाहकार मदन सुवेदीले यस्ता स्मृति पुरस्कारले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै उत्कृष्ट नतिजा हासिल गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दिवंगत व्यक्तिको स्मृतिलाई समाजसेवासँग जोड्ने यस्तो अभियान अनुकरणीय रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन समाजका सचिव वसन्तराज अधिकारीले गर्नुभएको थियो। सहभागीहरूले स्वर्गीय रुक्मिणादेवीको स्मृतिमा स्थापना गरिएको पुरस्कारले आगामी वर्षहरूमा पनि निरन्तरता पाउँदै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका थिए।
प्रतिक्रिया