सुनचाँदी

सुनको मूल्यमा पुनः वृद्धि, प्रतितोला कति पुग्यो ?

आइतबार, २८ असार २०८३, ११ : १२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। लगातार पाँच दिनसम्म घटेको सुनको मूल्य शुक्रबारदेखि पुनः बढ्ने क्रममा देखिएको हो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो। त्यसअघि पनि आइतबारदेखि बुधबारसम्म क्रमशः ४ सय, ९ सय, १ हजार ४ सय र ९ सय रुपैयाँले मूल्य घटेको थियो।

यता चाँदीको मूल्य भने आज घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १ सय ७० रुपैयाँ बढेर ४ हजार ५ सय १० रुपैयाँ पुगेको थियो।

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सोही अवधिमा ऐतिहासिक उतारचढाव देखिएको थियो। माघ १५ गते चाँदीको मूल्य तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो भने माघ १८ गते एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट मानिन्छ।

आइतबार, २८ असार २०८३, ११ : १२

प्रतिक्रिया