सुनचाँदी व्यवसायमा अनुशासन र व्यवस्थापनका लागि अध्यक्ष फोरम गठन

मंगलबार, ०५ साउन २०८३, १० : ०९

काठमाडौं- सुनचाँदी व्यवसाय नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको संवेदनशील र विश्वासमा आधारित क्षेत्र हो। लाखौं उपभोक्ताको भरोसा, हजारौं व्यवसायीको लगानी र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सीपले यो व्यवसायलाई विशेष बनाएको छ। तर पछिल्ला केही वर्षयता व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, संस्थागत असमन्वय, आचारसंहिताको कमजोर कार्यान्वयन र सुरक्षा चुनौतीले व्यवसायलाई थप व्यवस्थित बनाउने आवश्यकता झन् बढाएको छ।

विशेषगरी काठमाडौँ उपत्यका देशकै सबैभन्दा ठूलो सुनचाँदी व्यापारिक केन्द्र हो। यहाँ विभिन्न जिल्लागत तथा स्थानीय संघ संस्थामा आबद्ध सयौं व्यवसायी सक्रिय छन्। संस्थाहरूको अस्तित्व आफ्नै ठाउँमा महत्वपूर्ण भए पनि साझा विषयमा एउटै धारणा बनाउन नसक्दा व्यवसायीहरूले अनावश्यक समस्या भोग्नुपरेको यथार्थ कसैबाट लुकेको छैन। यही आवश्यकतालाई महसुस गर्दै काठमाडौँ उपत्यकाका विभिन्न व्यवसायिक संघ संस्थाका अध्यक्षहरूलाई एउटै साझा मञ्चमा ल्याएर अध्यक्ष फोरम गठन गरिएको हो। यसको उद्देश्य कुनै संस्था वा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको विकल्प बन्ने होइन। बरु महासङ्घसँग समन्वय गर्दै व्यवसायका साझा समस्या समाधान गर्ने, संस्थाहरूबीच सहकार्य बढाउने र व्यवसायलाई अनुशासित तथा व्यवस्थित बनाउने हो। फोरम गठनदेखि सञ्चालनसम्मका सम्पूर्ण गतिविधि महासङ्घका अध्यक्ष तथा जिम्मेवार पदाधिकारीहरूको जानकारी र सहमतिमै अघि बढाइएको छ।

आज व्यवसायले भोगिरहेको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हो आचारसंहिताको प्रभावकारी कार्यान्वयन। कुनै संस्थाले कारबाही गरेको व्यवसायी अर्को संस्थामा आबद्ध भएर सहजै व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था रहँदासम्म अनुशासन स्थापित हुन सक्दैन। यसले इमानदार व्यवसायीलाई निरुत्साहित मात्र गर्दैन, संस्थागत निर्णयको प्रभावकारितामाथि पनि प्रश्न उठाउँछ। त्यसैले उपत्यकाभित्रका सबै संघ संस्थाले साझा रूपमा निर्णय कार्यान्वयन गर्ने प्रणाली विकास गर्नु समयको आवश्यकता हो।

व्यवसायीहरूको सुरक्षा अर्को गम्भीर विषय हो। सुनचाँदी व्यवसाय उच्च जोखिमयुक्त भएकाले चोरी, लुटपाट तथा अन्य आपराधिक घटनाको सम्भावना सधैं रहन्छ। यस्तो अवस्थामा कुनै व्यवसायी जुनसुकै जिल्लामा आबद्ध भए पनि उपत्यकाभित्र समस्या पर्दा सबै संस्थाले एकजुट भएर सहयोग गर्ने संस्कार विकास हुनुपर्छ। यसका लागि नेपाल प्रहरी, स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग नियमित समन्वय गर्न अध्यक्ष फोरमले प्राथमिकता दिएको छ।

बजार व्यवस्थापनका सवालमा पनि साझा मापदण्ड आवश्यक छ। शनिबार सबै सुनचाँदी पसल बन्द गर्ने निर्णय होस् वा पुराना गरगहनाको खरिदमा एउटै मापदण्ड लागू गर्ने निर्णय यी कुनै व्यवसायीलाई फाइदा वा बेफाइदा पुर्‍याउने उद्देश्यले गरिएका होइनन्। यी निर्णयको उद्देश्य बजारमा अनुशासन, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धा कायम गर्नु हो। एउटै व्यवसायमा फरक–फरक अभ्यास हुँदा उपभोक्तामा अन्योल सिर्जना हुन्छ भने व्यवसायीबीच अनावश्यक प्रतिस्पर्धा बढ्छ। साझा निर्णयले त्यस्ता विकृति नियन्त्रण गर्न मद्दत पुग्छ। आजको आवश्यकता संस्था थप्ने होइन, संस्थाहरूबीचको दूरी घटाउने हो। हामी सबै एउटै व्यवसायका प्रतिनिधि हौं। हाम्रो सफलता पनि साझा हो र चुनौती पनि साझा हो। त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यवसायको दीर्घकालीन हितलाई केन्द्रमा राख्न सकियो भने मात्र यो क्षेत्र थप विश्वासिलो, मर्यादित र व्यवस्थित बन्न सक्छ।

अध्यक्ष फोरम यही सोचको एउटा सुरुवात हो। यसको सफलता कुनै एक व्यक्ति वा संस्थाको सफलताभन्दा पनि सम्पूर्ण सुनचाँदी व्यवसायको सफलतासँग जोडिएको छ। यदि हामी सबैले एकता, अनुशासन, पारदर्शिता र सहकार्यलाई व्यवहारमा उतार्न सक्यौं भने काठमाडौँ उपत्यकाबाट सुरु भएको यो अभ्यास भविष्यमा देशभरिका सुनचाँदी व्यवसायीका लागि अनुकरणीय नमुना बन्न सक्छ। व्यवसाय बलियो हुँदा मात्र व्यवसायी बलियो हुन्छन्, व्यवसायी बलियो हुँदा मात्र संस्था बलियो बन्छ, र संस्था बलियो हुँदा मात्र समग्र सुनचाँदी व्यवसायको भविष्य सुरक्षित हुन्छ।  (तिरुवा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसाय मञ्चका अध्यक्ष हुन्)

 

मंगलबार, ०५ साउन २०८३, १० : ०९

प्रतिक्रिया