काठमाडौं- नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि इमास फाइभ बिक्री सुरू गरेको हो ।
कम्पनीले इमास फाइभको दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पहिलो १०० ग्राहकलाई विशेष छुट दिँदै इमास फाइभ प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र प्रिमियमको ३४ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
कम्पनीले इमास फाइभको आधिकारिक मूल्य भने प्राइम भेरियन्ट ३२ लाख ९९ हजार र प्रिमियमको ३६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर इमास फाइभ बनाएको हो । इमास फाइभ प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १३० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा २२५ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर छ । जसले १५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३२५ किमी रेन्ज दिन्छ ।
रियर ह्वील ड्राइभ सिस्टम भएको इमास फाइभको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलबेस छ ।
यसको इन्टेरियर निकै आकर्षक छ । यसमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, भेरियन्ट अनुसार १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर मध्ये छान्न सकिने एम्बियन्ट लाइट, किलेस इन्ट्री पाउन सकिन्छ ।
यसमा सुरक्षाको लागि ६ एयरब्याग, विभिन्न सुविधासहितको एडास फिचर, ३६० क्यामेरा लगायतका फिचरहरू उपलब्ध छन् । इमास फाइभको टर्निङ रेडियस ४.९५ मिटर मात्रै छ । जसको कारण सहरी क्षेत्रमा चलाउन सहज हुनेछ ।
प्रतिक्रिया