दक्षिण एसिया सीईओको नेपाल भ्रमण, विकास र लगानीमा केन्द्रित छलफल

मंगलबार, ०५ साउन २०८३, १५ : २७

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले भारत तथा दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीडी सिंहको नेपाल भ्रमणमार्फत नेपालको आर्थिक विकास, लगानी प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तारप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

साउन ३ देखि ५ सम्म भएको नेपाल भ्रमणका क्रममा सिंहले नेपाल सरकार, नियामक निकाय तथा विभिन्न सरोकारवालासँग भेटघाट गर्दै बैंकको अन्तर्राष्ट्रिय सञ्जाल, सीमापार वित्तीय सेवा तथा विश्वव्यापी विशेषज्ञतामार्फत नेपालको आर्थिक विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भ्रमणका क्रममा उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्ट तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपालको विकास प्राथमिकता, लगानीका सम्भावना तथा दिगो आर्थिक वृद्धिका लागि सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बैंकले जनाएको छ।

यसै अवसरमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले अग्रणी कर्पोरेट क्षेत्रका प्रतिनिधि, बैंकिङ क्षेत्रका नेतृत्वकर्ता तथा बहुपक्षीय संस्थाका प्रतिनिधिहरूको सहभागितामा विशेष नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा बैंकका दीर्घकालीन साझेदारहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भारत तथा दक्षिण एशियाका सीईओ पी।डी। सिंहले दक्षिण एशियाली अर्थतन्त्रलाई विश्व बजारसँग जोड्न स्ट्यान्डर्ड चार्टर्डको अन्तर्राष्ट्रिय सञ्जाल महत्वपूर्ण रहेको बताए। उनले सीमापार बैंकिङ सेवा, कर्जा, परामर्श, पूँजी व्यवस्थापन तथा ग्राहकको आवश्यकता अनुरूपका वित्तीय समाधानमार्फत नेपालजस्ता बजारका ग्राहकलाई व्यवसाय विस्तार गर्न सहयोग पुग्ने र यसबाट देशको समग्र आर्थिक विकासमा योगदान पुग्ने उल्लेख गरे।

सन् १९८७ देखि नेपालमा संयुक्त लगानी संस्थाका रूपमा सञ्चालनमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा हाल स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०।२१ प्रतिशत र नेपाली सर्वसाधारणको २९।७९ प्रतिशत स्वामित्व रहेको छ। बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समेत सूचीकृत रहेको छ।

मंगलबार, ०५ साउन २०८३, १५ : २७

प्रतिक्रिया