काठमाडौं- प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उत्पादन वृद्धि, उद्योग पुनर्जीवन र निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेका अनुसार छलफलका क्रममा प्रधानमन्त्री शाहले उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विस्तृत जानकारी लिएका थिए। सन् २००५ अघिको जस्तै नेपाली तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्दै अर्थतन्त्रमा यसको योगदान बढाउने विषयमा गम्भीर छलफल भएको उनले बताए।
पाण्डेका अनुसार विभिन्न मन्त्रालयमा रोकिएका तथा अड्किएका उद्योगसम्बन्धी समस्याहरू तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
त्यस्तै, करिब २० वर्षदेखि बन्द रहेका रुग्ण तयारी पोशाक उद्योगहरू पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने सरकारको योजना रहेको पनि प्रधानमन्त्रीले बताएका छन्।
कपडा तथा तयारी पोशाक उद्योगलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गरिने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।
छलफलका क्रममा अमेरिकातर्फ नेपाली तयारी पोशाक निर्यातमा देखिएको प्रयोगशाला तथा परीक्षणसम्बन्धी अवरोध हटाउन परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक पहल र सहजीकरण गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
प्रतिक्रिया