काठमाडौं- साउन र भदौमा आयोजना हुने दुई ठूला अटो शोमा करिब ८ नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक हुने भएका छन्। साउन २६ देखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र भदौ ९ देखि हुने नाडा अटो शो मार्फत विद्युतीय तथा पेट्रोल दुवै सेग्मेन्टका नयाँ मोडल नेपाली बजारमा आउने तयारीमा छन्।
सार्वजनिक हुने प्रमुख मोडलमा यात्री पी२ इलेक्ट्रिक स्कुटर, अल्ट्राभोइलेट एक्स४७, हिरो भिडा इलेक्ट्रिक स्कुटर, टीभीएस आरटीएक्स ३००, यामाहा एक्सएसआर १५५, मोर्बिडेली २५० एड्भेन्चर, बजाज चेतक २५०१ र चेतक ३५०३ रहेका छन्। अन्य केही कम्पनीले पनि नयाँ मोडल ल्याउने तयारी गरे पनि विवरण सार्वजनिक गरेका छैनन्।
नाइमा मोबिलिटी एक्स्पोमा नेपालमै डिजाइन र निर्माण गरिएको पहिलो इलेक्ट्रिक स्कुटर यात्री पी२ पहिलोपटक सार्वजनिक हुनेछ। सिप्रदी ट्रेडिङ र यात्रीको सहकार्यमा बनेको यो स्कुटर अटो शोको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।
वैद्य ग्रुपले प्रिमियम इलेक्ट्रिक मोटरसाइकल अल्ट्राभोइलेट एक्स४७ र मोर्बिडेली २५० एड्भेन्चर सार्वजनिक गर्ने तयारी गरेको छ। त्यस्तै, सीजी मोटर्सले हिरोको विद्युतीय ब्रान्ड भिडा स्कुटर नेपाली बजारमा ल्याउने भएको छ।
जगदम्बा मोटर्सले टीभीएसको पहिलो एड्भेन्चर बाइक आरटीएक्स ३०० सार्वजनिक गर्नेछ भने एमएडब्लू राइडले यामाहा एक्सएसआर १५५ नाडा अटो शोमा लन्च गर्ने सम्भावना छ। हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज चेतक २५०१ र ३५०३ गरी दुई नयाँ इलेक्ट्रिक स्कुटर बजारमा उतार्ने तयारी गरेको छ।
दुई साताको अन्तरालमा हुने यी दुई अटो शोले नेपाली बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र प्रिमियम दुईपाँग्रे सवारीसाधनबीच प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया