काठमाडौं– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको आयोजनामा व्यवसायीहरूको क्षमता अभिवृद्धि, कर प्रणालीबारे सचेतना विस्तार तथा व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र कानुनी रूपमा सुदृढ बनाउने उद्देश्यले आयोजित ‘सीप प्रवर्द्धन शुल्क, कर प्रणाली तथा संस्थागत प्रशिक्षण कार्यक्रम’ शनिबार काठमाडौंको शंखमूलस्थित ए–वन क्याफेमा सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा विशेषगरी सीप प्रवर्द्धन शुल्कको प्रभावकारी कार्यान्वयन, कर प्रणालीसम्बन्धी कानुनी व्यवस्था, व्यवसाय सञ्चालनमा अपनाउनुपर्ने वित्तीय अनुशासन, लेखा व्यवस्थापन, संस्थागत सुशासन तथा व्यवसायलाई कानुनी रूपमा सुरक्षित र प्रतिस्पर्धी बनाउने विषयमा विस्तृत प्रस्तुति दिइएको थियो । सहभागीहरूलाई व्यवसाय सञ्चालनका क्रममा देखिने व्यावहारिक समस्या, करसम्बन्धी जिज्ञासा तथा कानुनी प्रक्रियाबारे समेत अन्तरक्रियात्मक रूपमा जानकारी गराइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष खेम तिरूवाले बदलिँदो आर्थिक तथा व्यावसायिक परिवेशमा व्यवसायीहरूले समय अनुसार आफ्नो ज्ञान, सीप र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए । उनले कर प्रणाली, कानुनी व्यवस्था र संस्थागत सुशासनबारे पर्याप्त जानकारी नभए व्यवसाय सञ्चालनमा अनावश्यक समस्या आउन सक्ने उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले व्यवसायीलाई आत्मविश्वासी र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट (सिए) महेश पोख्रेलले कर प्रणाली, लेखा व्यवस्थापन, वित्तीय अनुशासन तथा करदाताले पालना गर्नुपर्ने कानुनी दायित्वबारे विस्तृत जानकारी दिएका थिए । उनले व्यवसाय पारदर्शी र दिगो बनाउन नियमित लेखा अभिलेख, कर विवरणको समयमै बुझाइ तथा कानुनी प्रक्रियाको पालना अपरिहार्य रहेको बताए ।
त्यसैगरी कानुनी परामर्शदाता तारा आर्यालले व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, दर्ता प्रक्रिया, व्यवसायीका अधिकार तथा दायित्व, सम्भावित कानुनी चुनौती र त्यसको समाधानबारे प्रशिक्षण दिएका थिए । उनले कानुनी सचेतनाले व्यवसायलाई सुरक्षित र विश्वसनीय बनाउने उल्लेख गर्दै सबै व्यवसायीलाई समयानुकूल कानुनी ज्ञान अद्यावधिक गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले प्रशिक्षण अत्यन्त उपयोगी, व्यवहारिक र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका थिए । उनीहरूले कर प्रणाली, सीप प्रवद्र्धन शुल्क तथा संस्थागत व्यवस्थापनबारे प्राप्त जानकारीले व्यवसाय सञ्चालनमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै मञ्चले व्यवसायीहरूको क्षमता विकास, व्यवसायलाई थप व्यावसायिक, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । साथै, सुनचाँदी व्यवसायमा कार्यरत व्यवसायी, कर्मचारी तथा कालिगढहरूको दक्षता अभिवृद्धि गर्न यस्ता प्रशिक्षण कार्यक्रम आगामी दिनमा नियमित रूपमा सञ्चालन गरिने मञ्चका संस्थापक अध्यक्ष गणेश प्रसाद लकान्द्री जानकारी दिए ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैप्रति मञ्चले आभार व्यक्त गरेको छ । विशेष रूपमा चार्टर्ड एकाउन्टेन्ट महेश पोख्रेल र कानुनी परामर्शदाता तारा आर्याललाई प्रशिक्षण तथा प्राविधिक सहजीकरणका लागि विशेष धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा मञ्चका अध्यक्ष खेम तिरूवा, संस्थापक अध्यक्ष गणेश प्रसाद लकान्द्री, निबर्तमान अध्यक्ष डम्बर बराईली, चार्टर्ड एकाउन्टेन्ट (सिए) महेश पोख्रेल, कानुनी परामर्शदाता तारा आर्याल, मञ्चका पदाधिकारी, व्यवसायी सदस्य, कर्मचारी, सहयोगी तथा आबद्ध कालिगढहरूको उल्लेख्य सहभागिता रहेको थियो भने मञ्चका महासचिव हेमकुमार राईले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया