कोषाध्यक्ष विश्वकर्माको चेतावनी : सदस्यता नवीकरण नगरे ५० प्रतिशत जरिवाना

मंगलबार, १२ साउन २०८३, १३ : ४१

काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संघ तथा एसोसिएट सदस्यहरूलाई २०८३ असोज मसान्तभित्र सदस्यता नवीकरण तथा संस्थागत अभिलेख अद्यावधिक गर्न आग्रह गरेको छ ।

महासंघले जारी गरेको सूचनाअनुसार विधानको दफा १०(क) (३) बमोजिम प्रत्येक आर्थिक वर्षभित्र सबै आबद्ध संघ तथा एसोसिएट सदस्यहरूले सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार रु. २५,००० नवीकरण शुल्क बुझाएर तोकिएको समयसीमाभित्र सदस्यता नवीकरण गर्न अनुरोध गरेको हो । 

महासंघका कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माले तोकिएको अवधिभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरूलाई वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत जरिवाना लाग्ने जानकारी दिएका छन् ।

त्यस्तै, महासंघले सम्बन्धित सरकारी निकायमा तीन वर्ष वा सोभन्दा बढी समयदेखि संस्था नवीकरण नगरेका वा संस्थागत अभिलेख तथा अन्य विवरण अद्यावधिक नगरेका संघका सदस्यहरूलाई पनि २०८३ असोज मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी संस्था नवीकरण तथा अभिलेख अद्यावधिक गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र सरकारी निकायमा संस्था नवीकरण तथा आवश्यक अभिलेख अद्यावधिक नगर्ने सदस्य संघहरू महासंघको विधानबमोजिम स्वतः निलम्बनमा पर्न सक्ने महासंघले चेतावनी पनि दिएको छ ।

कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्माद्वारा हस्ताक्षरित सूचनामा सबै सदस्य संघलाई समयमै सदस्यता नवीकरण, संस्थागत अभिलेख अद्यावधिक तथा सम्बन्धित सरकारी निकायमा आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

मंगलबार, १२ साउन २०८३, १३ : ४१

प्रतिक्रिया