एमजीको नयाँ प्लगइन हाइब्रिड एसयूभी नेपालमा, प्रिमियम फिचरसहित सार्वजनिक हुने

बुधबार, १३ साउन २०८३, ११ : १९

काठमाडौं- एमजीको नयाँ एचएस प्लगइन हाइब्रिड एसयूभी नेपाली बजारमा प्रवेश गर्ने भएको छ। आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा उक्त मोडल पहिलो पटक सार्वजनिक गरिने भएको हो।

एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स ले अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेको एचएस प्लगइन हाइब्रिडलाई नेपाल ल्याउन लागेको जनाएको छ। कम्पनीका अनुसार उत्कृष्ट प्रदर्शन, लामो विद्युतीय रेन्ज, व्यावहारिक प्रयोग तथा प्रतिस्पर्धी मूल्यका कारण यो मोडल विश्व बजारमा सफल भएको छ। यही कारण नेपाली बजारमा पनि यसको राम्रो माग हुने अपेक्षा गरिएको छ।

यसअघि पारामाउन्ट मोटर्सले पेट्रोलबाट चल्ने एमजी एचएस एसयूभी बिक्री गर्दै आएको थियो। तर नेपालमा विद्युतीय सवारीसाधनको माग तीव्र रूपमा बढेपछि पेट्रोल मोडलको बिक्री घटेको थियो। अब कम्पनीले प्लगइन हाइब्रिडमार्फत ग्राहकलाई पेट्रोल र विद्युतीय दुवै प्रविधिको सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

नयाँ एमजी एचएस प्लगइन हाइब्रिडमा १।५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १३५ किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ। दुवैको संयुक्त क्षमता २९५ बीएचपी रहेको कम्पनीले जनाएको छ। यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ६।१ सेकेन्डमा हासिल गर्न सक्ने क्षमता राख्छ।

यो एसयूभीको प्रमुख आकर्षण यसको १२० किलोमिटरको विद्युतीय रेन्ज हो। कम्पनीले एकपटक पूर्ण चार्जमा १२० किलोमिटरसम्म शुद्ध विद्युतीय मोडमा चल्ने दाबी गरेको छ भने विभिन्न परीक्षणमा ११० किलोमिटरभन्दा बढी रेन्ज प्राप्त भएको उल्लेख गरिएको छ।

कम्पनीका अनुसार एचएस प्लगइन हाइब्रिडले प्रति किलोमिटर केवल १२ ग्राम कार्बन उत्सर्जन गर्ने भएकाले वातावरणमैत्री सवारीका रूपमा परिचित छ। यही कारण धेरै मुलुकले यसलाई विद्युतीय सवारीसरह कर छुट प्रदान गर्दै आएका छन्।

इन्टेरियरतर्फ यसमा ५०७ लिटर क्षमताको बुट स्पेस, दुईवटा १२।३ इन्चका डिजिटल स्क्रिन, १९ इन्चका एलोय ह्विल, हिटेड लेदरेट सिट, ३६० डिग्री क्यामेरा, किलेस इन्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, हेड–अप डिस्प्ले तथा वायरलेस स्मार्टफोन चार्जिङ जस्ता प्रिमियम सुविधा उपलब्ध छन्।

पर्फमेन्स, इन्धन बचत, विद्युतीय ड्राइभिङ अनुभव र आधुनिक प्रविधिको संयोजनका कारण एमजी एचएस प्लगइन हाइब्रिड नेपाली एसयूभी बजारमा आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

बुधबार, १३ साउन २०८३, ११ : १९

प्रतिक्रिया