काठमाडौं- नेपाल डेरी एसोसिएसनले राष्ट्रिय खिर दिवसको अवसरमा श्रावण १५ मा खिर खाएर नेपाली मौलिक संस्कृति संरक्षण गर्न सबै नेपालीलाई आह्वान गरेको छ ।
एसोसिएसनले यस वर्ष “खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान” भन्ने मूल नारासहित राष्ट्रिय खिर दिवस मनाउन लागेको जनाएको छ । यस अवसरमा श्रावण १३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरको सहकार्यमा खिर प्रवद्र्धन कार्यक्रम आयोजना गरिनेछ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, डेरी उद्योगी, कलाकार, पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको सहभागिता रहने जनाइएको छ । साथै एसोसिएसनका सातै प्रदेश तथा जिल्ला समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् ।
एसोसिएसनका अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ फागुन १५ गतेको निर्णयअनुसार प्रत्येक वर्ष श्रावण १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आएको हो ।
प्रेस विज्ञप्तिअनुसार नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाइँमा व्यस्त किसानको श्रमको सम्मानस्वरूप श्रावण १५ मा परिवार र आफन्तसँग खिर खाने परम्परा रहिआएको छ । यसले कृषि, संस्कृति र सामाजिक सम्बन्धलाई मजबुत बनाउने विश्वास गरिएको छ ।

एसोसिएसनले खिरलाई स्वादिलो मात्र नभई पोषणयुक्त परिकारका रूपमा समेत व्याख्या गरेको छ । दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिरमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन तथा खनिज तत्व पाइने भएकाले बालबालिका, गर्भवती महिला तथा ज्येष्ठ नागरिकका लागि विशेष उपयोगी हुने उल्लेख गरिएको छ ।
यस वर्ष श्रावण १५ का दिन देशभर करिब १ करोड लिटर दूध खपत भई १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको एसोसिएसनले जनाएको छ । यसबाट दुग्ध किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
एसोसिएसनले राष्ट्रिय खिर दिवसले नेपाली मौलिक खाना, दुग्धजन्य पदार्थको उपभोग, किसानको सम्मान, डेरी उद्योगको सुदृढीकरण, पोषण सुरक्षा तथा स्थानीय कृषि उत्पादनको उपयोगलाई थप प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेको छ ।
विज्ञप्तिमा आधुनिक जीवनशैलीका कारण मौलिक परम्परा र पारिवारिक सम्बन्ध कमजोर बन्दै गएको अवस्थामा राष्ट्रिय खिर दिवसले परिवार र समाजलाई जोड्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै स्वदेशी दूध तथा दुग्धजन्य पदार्थको प्रयोगलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया