सुनचाँदी व्यवसाय

सुनचाँदी व्यवसायी नियन्त्रणभन्दा बाहिर, महासंघद्वारा समस्या समाधानमा कुनै पहल भएनः अध्यक्ष तिरुवा

व्यवसायीको समस्या समाधानमा उदासिन, पद जोगाउन मात्रै ध्यान केन्द्रित गरेको आरोप

शनिबार, १६ साउन २०८३, १० : १०

काठमाडौं- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष  खेम तिरुवाले सुनचाँदी व्यवसाय क्षेत्रमा देखिएका विकृति र व्यवसायीका समस्या समाधानप्रति सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ संस्था उदासिन रहेको आरोप लगाएका छन् । 

उपत्यका सुनचाँदी व्यवसायी फोरमका संयोजक समेत रहेका तिरुवाले नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न आभुषण महासंघ तथा अन्य संघ संस्थाले व्यवसायीको हितका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । उनले अहिले संघ तथा महासंघ व्यवसायीको हित भन्दा पनि आफ्नो संस्थागत नेतृत्व र पद जोगाउनेतर्फ मात्रै ध्यान केन्द्रित गरेको आजको अर्थसँग कुराकानी गर्दै गुनासो गरेका हुन् । 

अध्यक्ष तिरुवाले सुनचाँदी बजारमा पछिल्लो समय व्यवसायीहरूले आफूखुशी विभिन्न अफर सार्वजनिक गर्ने, ज्याला तथा जर्तीमा अत्यधिक छुट दिने र अस्वस्थ प्रतिस्पर्धा बढाउने प्रवृत्ति मौलाउँदै गएको बताए । यस्ता गतिविधिले समग्र व्यवसाय नै प्रभावित बनाइरहेको भए पनि त्यसलाई रोक्न सम्बन्धित संघ र महासंघले कुनै ठोस पहल नगरेको उनको आरोप छ ।

उनले बजारलाई व्यवस्थित बनाउन बनाइएका केहि संघहरू नै आफ्नो जिम्मेवारीबाट पछि हटेको टिप्पणी गर्दै व्यवसायीहरूले मनपरी ढंगले कारोबार गरिरहँदा पनि संघ तथा महासंघ मौन बसेको बताए ।

‘आज बजारमा जसले जे चाह्यो त्यही अफर ल्याइरहेको छ । कसैले ज्यालामा छुट दिइरहेको छ भने कसैले जर्तीमा छुटको घोषणा गरिरहेको छ । यसले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ । तर यस विषयमा संघ र महासंघको कुनै प्रतिक्रिया आएको छैन,’ अध्यक्ष तिरुवाले आजको अर्थसँग भने ।

उनका अनुसार यस्ता गतिविधिले साना तथा मध्यम व्यवसायी सबैभन्दा बढी प्रभावित भएका छन् । एउटै प्रकृतिको व्यवसायमा एउटै मापदण्ड लागू हुनुपर्ने भए पनि अहिले बजार पूर्ण रूपमा अव्यवस्थित बन्दै गएको छ ।

अध्यक्ष तिरुवाले व्यवसायीका साझा समस्या समाधानका लागि नेपाल सुनचाँदी व्यवसायी फोरमले पटक–पटक छलफल र समन्वय बैठकको पहल गरेको जानकारी दिए । तर, ती छलफलमा संघ तथा महासंघले अपेक्षित सहभागिता नजनाएको र बजारलाई नियमन गर्ने विषयमा कुनै ठोस निर्णय वा कार्यान्वयन नगरेको उनको भनाइ छ ।

‘हामीले धेरै पटक छलफलका लागि बोलायौं । सबै व्यवसायीलाई एउटै मञ्चमा ल्याएर समाधान खोज्ने प्रयास गर्यौं । तर संघ तथा महासंघले बजारलाई नियन्त्रणमा ल्याउने वा व्यवसायीका समस्या समाधान गर्ने विषयमा कुनै पहल गरेन,’ उनले भने ।

तिरुवाले संघ तथा महासंघका पदाधिकारीहरू व्यवसायीको हितभन्दा पनि आफ्नो पद र नेतृत्व जोगाउने विषयमा बढी केन्द्रित भएको आरोप लगाए । यसले गर्दा व्यवसायीहरूले भोगिरहेका समस्या वर्षौंदेखि जस्ताको त्यस्तै रहेको उनले बताए । 

उनले बजारमा देखिएको मूल्य प्रतिस्पर्धा, छुटको होडबाजी र अनियमित व्यापारिक अभ्यासलाई समयमै नियन्त्रण गर्न नसके सुनचाँदी व्यवसाय थप संकटमा पर्न सक्ने चेतावनी दिए । उनले व्यवसायलाई स्वस्थ, मर्यादित र व्यवस्थित बनाउन साझा आचारसंहिता लागू गर्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष तिरुवाले व्यवसायीका हकहितका लागि सबै संस्था एक ठाउँमा उभिनुपर्ने भन्दै व्यक्तिगत स्वार्थ र संस्थागत राजनीति त्यागेर बजार व्यवस्थापनमा केन्द्रित हुन आग्रह गरे । व्यवसायीहरूको विश्वास कायम राख्न संघ तथा महासंघले तत्काल सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

उनले सरकार र सम्बन्धित निकायसँग पनि बजारमा देखिएका विकृति नियन्त्रण गर्न तथा व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित संस्थासँग समन्वय गरी प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । व्यवसायीको हितलाई केन्द्रमा राखेर सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गरे मात्र सुनचाँदी व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन सकिने उनले जिकिर गरे ।  

शनिबार, १६ साउन २०८३, १० : १०

प्रतिक्रिया