नाइमा मोबिलिटी एक्स्पोमा महिन्द्राको ‘एक्सईभी–९एस’ सार्वजनिक हुने

सोमबार, १८ साउन २०८३, १७ : ३४

काठमाडौं- महिन्द्राले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘एक्सईभी–९एस’ नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोविलिटी एक्स्पो २०२६ मा एक्सईभी–९एस मोडल सार्वजनिक गर्ने तयारी गरेको हो ।

महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बिक्री सुरु गर्न लागेको अत्याधुनिक एसयूभी ‘इनग्लो प्लेटफर्म’मा बनेको हो । यही प्लेटफर्ममा यसअघि बजारमा एक्सईभी–९ई र बीई–६ आएका थिए ।

नयाँ एसयूभी एक्सईभी–९ एस मोडल निकै परम्परागत एसयूभी शैलीमा तयार गरिएको छ । जसले उपभोक्तालाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।

एक्सईभी–९एसको फ्रन्टमा आकर्षक एलईडी लाइटबार, क्लोजअफ ग्रिल, र मस्कुलर बम्पर डिजाइन दिइएको छ । एक्सइभी–९ईको कुपे शैलीको ढल्किएको छाना हटाएर यसमा बाक्स सेपको परम्परागत एसयूभी रूफलाइन प्रयोग गरिएको छ ।

नयाँ एक्सईभी–९एसमा २७६२ एमएम लामो ह्वीलबेस छ । यसमा १८ इन्चको अलोय ह्वील पाउन सकिन्छ । महिन्द्राले यो एसयूभीलाई आकर्षक लुक दिनुभन्दा आरामदायी यात्रालाई प्राथमिकतामा राखेको देखिन्छ ।

Xev9s

क्याबिनमा पनि अत्याधुनिक प्रविधि र सुविधाको भरमार प्रयोग गरिएको छ । ड्यासबोर्डमा ट्रिपल स्क्रिन सेटअप पाउन सकिन्छ । प्यानोरामिक सनरुफ, वायरलेस फोन चार्जर, ३६० डिग्री क्यामेरा र डुअल जोन क्लाइमेट कन्ट्रोलले सु–सज्जित छ ।

महिन्द्राले यसमा १६ स्पिकरयुक्त हार्मन अडियो सिस्टम, डल्बी एट्मस, हेडअप डिस्प्ले, एडास २.०, मेमोरी ड्राइभर सिट र एयर प्युरिफायर जस्ता फिचर दिएको छ ।

७ सिट क्षमताको यो एसयूभीको दोस्रो पंक्तिका सिटमा पनि भेन्टिलेटेड सिट, स्लाइड तथा रिक्लाइन सुविधा, सन ब्लाइन्ड, ट्रे टेबल, वायरलेस चार्जर र इन्टरटेनमेन्ट स्क्रिन पाउन सकिन्छ । तेस्रो पंक्तिका सिट भने बालबालिका वा छोटो दूरीका यात्राका लागि दिइएको हो ।

एक्सईभी–९एसमा ५९ किलोवाट आवर, ७० किलोवाट आवर र ७९ किलोवाट आवर गरी तीनवटा ब्याट्री विकल्प भारतीय बजारमा उपलब्ध छन् । नेपालमा कुन ब्याट्रीमा आउँछ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।

रियर ह्वील ड्राइभ सिस्टम रहेको एसयूभीको ७९ किलोवाट आवर ब्याट्रीसँग २८१ बीएचपी शक्ति र ३८० एनएम टर्क उत्पादन गर्ने इलेक्ट्रीक मोटर दिइएको छ ।
 

सोमबार, १८ साउन २०८३, १७ : ३४

प्रतिक्रिया