काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सदस्य संघ तथा व्यवसायीलाई भ्रामक र अव्यावसायिक प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ । महासंघले सोमबार परिपत्र जारी गर्दै ‘फ्री ज्याला’, ‘निःशुल्क मेकिङ चार्ज’, ‘अत्यधिक छुट’ लगायतका प्रचारले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गरेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको हो ।
महासंघका अनुसार वर्तमान आर्थिक मन्दी, सुनचाँदीको मूल्यमा उतारचढाव, कानुनी तथा नीतिगत जटिलता र कम तौलका गरगहनाको बढ्दो कारोबारजस्ता चुनौतीबीच व्यवसायीबीच अनुशासन, संयम र एकताको आवश्यकता झन् बढेको छ ।
परिपत्रमा केही व्यवसायीले जर्ती, ज्याला तथा मेकिङ चार्ज निःशुल्क, उपहार तथा अत्यधिक छुटको नाममा प्रचार–प्रसार गरिरहेको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । यस्ता गतिविधिले व्यवसायको गरिमा, विश्वसनीयता तथा उपभोक्ताको विश्वासमा नकारात्मक असर पार्ने भएकाले तत्काल रोक्नुपर्ने महासंघको भनाइ छ ।
महासंघले सबै सदस्य संघलाई आफ्नो कार्यक्षेत्रभित्रका व्यवसायीलाई महासंघको आचारसंहिता पूर्ण रूपमा पालना गराउन, अनुशासन तथा अनुगमन समिति गठन गर्न तथा भ्रामक एवं अस्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने प्रचार–प्रसार रोक्न आवश्यक पहल गर्न निर्देशन दिएको छ ।
साथै, महासंघको निर्देशन बेवास्ता गर्दै यस्ता गतिविधि दोहोरिए सम्बन्धित सदस्य संघले आफ्नो विधान, आचारसंहिता तथा प्रचलित कानुनअनुसार अनुशासनात्मक कारबाही गर्नुपर्ने र गरिएको कारबाहीको विवरण प्रमाणसहित महासंघको हेल्प डेस्कमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया