काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेश प्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायलाई दीर्घकालीन, सम्मानित र पुस्तौँसम्म टिकाइराख्न व्यवसायीहरू स्वयं जिम्मेवार, अनुशासित र कानुनसम्मत बन्नुपर्ने बताएका छन् ।
उनले सुनचाँदी व्यवसायको भविष्य सुरक्षित गर्ने जिम्मेवारी सरकार वा महासंघको मात्रै नभई स्वयं व्यवसायीहरूको काँधमा रहेको स्पष्ट पारे । महासंघले सरकारसँग आवश्यक नीति निर्माण, समन्वय, सहजीकरण तथा व्यवसायमैत्री वातावरणका लागि निरन्तर पहल गरिरहेको भए पनि व्यवसायीहरू नै नियम, कानुन र व्यावसायिक आचारसंहिताको पालना गर्न असफल भए अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उनको भनाइ थियो ।
लकान्द्रीले सुनचाँदी व्यवसाय नेपाली समाजको विश्वाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसको विश्वसनीयता जोगाउनु सबै व्यवसायीको साझा दायित्व भएको बताए । उनले व्यवसायमा पारदर्शिता, इमानदारी र जिम्मेवारी कायम गर्न नसकिए भविष्यमा यस क्षेत्रप्रति आमनागरिकको विश्वास कमजोर बन्न सक्ने चेतावनी दिए ।
उनका अनुसार पछिल्ला केही वर्षयता केही व्यक्तिको गैरजिम्मेवार, अव्यवस्थित तथा अराजक व्यावसायिक गतिविधिका कारण समग्र सुनचाँदी व्यवसाय नै आलोचनाको केन्द्रमा पर्दै आएको छ । केही सीमित व्यक्तिका गलत अभ्यासले हजारौँ इमानदार व्यवसायीको छविमा समेत नकारात्मक असर परेको भन्दै उनले यस्ता गतिविधिलाई व्यवसायी समुदायले नै निरुत्साहित गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले नयाँ पुस्तालाई सुनचाँदी व्यवसायतर्फ आकर्षित गर्न व्यवसायको छवि सुधार गर्नु अपरिहार्य रहेको बताए । यदि व्यवसायप्रति समाजमा नकारात्मक धारणा बढ्दै जाने हो भने आगामी पुस्ताले यो क्षेत्रलाई सुरक्षित र सम्मानजनक पेशाका रूपमा नहेर्न सक्ने उनको भनाइ थियो ।
“व्यवसायलाई पुस्तान्तरण गर्ने वातावरण बाहिरबाट सिर्जना हुँदैन । व्यवसायी स्वयंले आफ्नो व्यवहार, व्यवसाय सञ्चालनको शैली र ग्राहकप्रतिको उत्तरदायित्वमार्फत त्यसको आधार तयार गर्नुपर्छ,“ उनले आजको अर्थ सँगको कुराकानीमा भने ।
लकान्द्रीले अहिलेको आवश्यकता व्यवसायलाई मर्यादित, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै उपभोक्ताको विश्वास अझ बलियो बनाउने रहेको बताए । उनले कानुनी प्रक्रिया पालना, कर प्रणालीप्रति जिम्मेवार बन्ने, गुणस्तरीय सेवा दिने तथा व्यवसायिक नैतिकतालाई प्राथमिकतामा राख्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
उनले महासंघले व्यवसायीको क्षमता अभिवृद्धि, नीतिगत सुधार, व्यवसायिक वातावरण सुदृढीकरण तथा सरकारसँग आवश्यक समन्वयका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन व्यवसायीहरूको सक्रिय सहभागिताबाट मात्र सम्भव हुने बताए ।
कोषाध्यक्ष लकान्द्रीले सुनचाँदी व्यवसाय केवल व्यापारिक गतिविधि मात्र नभई विश्वास, परम्परा र सामाजिक प्रतिष्ठासँग जोडिएको क्षेत्र भएकाले यसको गरिमा जोगाउन सबै व्यवसायी एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । व्यवसायलाई स्वच्छ, विश्वसनीय र प्रतिस्पर्धी बनाउन सकिए मात्र यो क्षेत्र आर्थिक रूपमा थप सुदृढ हुने र आगामी पुस्ताले पनि गर्वका साथ निरन्तरता दिने वातावरण निर्माण हुने उनको विश्वास छ ।
प्रतिक्रिया