काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा लगातार दोस्रो दिन पनि ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँ बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको थियो। यससँगै पछिल्ला दुई कारोबार दिनमै सुनको मूल्य १२ हजार २ सय रुपैयाँले बढेको छ।
चाँदीको मूल्य पनि बढ्ने क्रम जारी रहेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५ सय ७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको थियो।
नेपाली बजारमा हालसम्मकै उच्च सुनको मूल्य भने गएको माघ १५ गते कायम भएको थियो। त्यस दिन सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा हालसम्मकै ठूलो गिरावट गएको माघ १८ गते देखिएको थियो, जब प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले मूल्य घटेको थियो। चाँदीको अहिलेसम्मकै उच्च मूल्य भने माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया