काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारको राजस्व उठाउने स्रोतका रूपमा मात्र हेर्नु गलत भएको बताएका छन्। नाइमा अटो एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले सवारीसाधनलाई विलासी वस्तुका रूपमा नभई अत्यावश्यक साधनका रूपमा हेर्नुपर्ने बताए।
‘यसलाई अति आवश्यक सवारीसाधनका रूपमा हेर्न जरुरी छ, विलासी वस्तुका रूपमा होइन,’ उनले भने, ‘सवारी आयातमा संसारकै सबैभन्दा महँगो भन्सार दर नेपालमा छ। चालु आर्थिक वर्षको बजेटमा पनि भन्सार दर बढाइएको छ।’
उनले सडक दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन र चालकलाई मात्र दोष दिएर नहुने भन्दै सडक पूर्वाधार सुधारमा पनि सरकारले ध्यान दिनुपर्ने बताए। सार्वजनिक सवारीसाधनको दर्ता किन रोकिएको हो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ।
अध्यक्ष श्रेष्ठले सरकारले केही क्षेत्रमा प्रयास गरे पनि बन्द अवस्थामा रहेका उद्योगतर्फ पर्याप्त ध्यान नदिएको गुनासो गरे। ‘सरकारले प्रयास गर्यो, राम्रो हो। तर हेटौंडा कपडा उद्योगजस्ता धेरै उद्योग बन्द छन्। त्यसतर्फ खै सरकारको ध्यान गएको?’ उनले प्रश्न गरे।
एसेम्ब्लिङ उद्योगलाई प्रोत्साहन गर्न सरकारले छुट्टै तथा स्पष्ट नीति ल्याउनुपर्ने पनि श्रेष्ठले बताए।
प्रतिक्रिया