काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार नगरी निजी क्षेत्र र सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने बताएका छन्।
नाट्टाको ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले निजी क्षेत्रका सुझावलाई नीति निर्माणमा प्रभावकारी रूपमा समेट्नुपर्ने बताए। सरकार र निजी क्षेत्रबीचको सम्बन्ध नियन्त्रणमा नभई विश्वास र साझेदारीमा आधारित हुनुपर्ने उनको भनाइ छ।
श्रेष्ठले पर्यटनलाई पर्यटक संख्या बढाउने क्षेत्र मात्र नभई रोजगारी, विदेशी मुद्रा आर्जन र आर्थिक गतिविधि विस्तार गर्ने उच्च मूल्य सिर्जना गर्ने उद्योगका रूपमा विकास गर्नुपर्ने बताए।
पर्यटन विकासका लागि पूर्वाधार तथा हवाई कनेक्टिभिटी सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले काठमाडौंसँगै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित र प्रतिस्पर्धी उडान सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
प्रतिक्रिया