नेपाली सेनामाथि प्रहार सह्य हुँदैन : जेनजी अगुवा हमाल

शनिबार, ३० साउन २०८३, १२ : ४९

काठमाडौं — गौरवशाली इतिहास बोकेको नेपाली सेनामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने जेनजी अगुवा रवि किरण हमालले बताएका छन्। बबरमहलस्थित कार्की ब्याङ्केटमा अवकाशप्राप्त सैनिक तथा सुरक्षा क्षेत्रका व्यक्तित्वहरूको सहभागितामा आयोजित कार्यक्रममा बोल्दै हमालले नेपाली सेना नेपालको एकीकरण अभियानदेखि वर्तमानसम्म राष्ट्र संकटमा पर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय संस्था भएको बताए।

हमालले नेपाली सेनालाई **“देश संकटमा पर्दा अन्तिम लाइफलाइनका रूपमा उभिने राष्ट्रिय संस्था”**का रूपमा चित्रण गर्दै संस्थाको गरिमा र योगदानलाई राजनीतिक स्वार्थका आधारमा कमजोर पार्न नहुने धारणा राखे।

उनले पछिल्लो जेनजी आन्दोलनको प्रसंग उल्लेख गर्दै आन्दोलनका क्रममा राजनीतिक नेतृत्वका शीर्ष व्यक्तिहरूको अनुपस्थिति र राज्य संयन्त्रमा उत्पन्न असहज परिस्थितिबीच नेपाली सेनाले शान्ति तथा सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। “जब देशमा बेचैनी र अन्योल थियो, नेपाली सेनाले शान्ति स्थापना गर्‍यो र जनतालाई भय तथा असुरक्षाको अवस्थाबाट बाहिर निकाल्ने काम गर्‍यो,” हमालले भने।

उनका अनुसार जेनजी आन्दोलनको मूल भावना सुशासन, जवाफदेहिता र संस्थागत सुधार भए पनि त्यसको नाममा राष्ट्रिय संस्थाहरूको अपमान वा अवमूल्यन गर्ने काम स्वीकार्य हुन सक्दैन। “व्यक्तिमाथि प्रश्न उठाउन पाइन्छ, संस्थामाथि सुधारको माग गर्न पाइन्छ, तर राष्ट्रका लागि योगदान गरेका संस्थालाई नियोजित रूपमा कमजोर बनाउने वा मानमर्दन गर्ने कुरा कुनै पनि हालतमा सह्य हुँदैन,” उनले बताए।

कार्यक्रममा सहभागी अवकाशप्राप्त सैनिक अधिकारीहरूले समेत नेपाली सेना तथा अन्य सुरक्षा निकायका प्रमुखहरूमाथि सार्वजनिक तथा संसदीय प्रक्रियामा भएको भनिएको अमर्यादित व्यवहारको विरोध गरेका थिए। उनीहरूले राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र सामाजिक सद्भाव जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

अवकाशप्राप्त सैनिक तथा सुरक्षा अधिकारीहरूको भेलामा नेपाली सेनाको ऐतिहासिक योगदानदेखि वर्तमान सुरक्षा चुनौतीसम्मका विषयमा चर्चा भएको थियो। सहभागीहरूले शान्ति र सुरक्षा कायम नभएसम्म विकास र समृद्धिको आधार तयार हुन नसक्ने भन्दै राज्यका सबै सुरक्षा निकायबीच संस्थागत एकता र समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा अवकाशप्राप्त रथी, उपरथी, सहायक रथी, सेनानी तथा विभिन्न दर्जाका सैनिक अधिकारी, सशस्त्र प्रहरीका अवकाशप्राप्त अधिकारी, भारतीय तथा ब्रिटिस गोर्खा सैनिकका अवकाशप्राप्त व्यक्तित्व, प्राध्यापक, नागरिक समाजका प्रतिनिधि तथा जेनजी अभियन्तासहित ३०० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन तथा संयोजन अवकाशप्राप्त उपरथी बाबुराम श्रेष्ठले गरेका थिए। पत्रकार सम्मेलनको सञ्चालन अवकाशप्राप्त सुबेदार मोहन थापाले गरेका थिए। कार्यक्रममा विभिन्न अवकाशप्राप्त सैनिक अधिकारी तथा नागरिक क्षेत्रका व्यक्तित्वहरूले राष्ट्रिय सुरक्षा, संस्थागत मर्यादा र वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए।

शनिबार, ३० साउन २०८३, १२ : ४९

प्रतिक्रिया