अपडेट

आज काठमाडौंका सात स्थानबाट ग्यास बिक्री वितरण हुने, कहाँ कुन ग्यास पाइन्छ ?

आइतबार, ३१ साउन २०८३, ०७ : २९

काठमाडौं- नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ। नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर तोकिएका केन्द्रमा गई ग्यास खरिद गर्न सक्नेछन्।

निगमका अनुसार ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू यसप्रकार छन्:

नेपाल आयल निगम, टेकु परिसर: नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीराम र सगर
पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ: नेपाल, एचपी र भानु
राधास्वामी, कीर्तिपुर परिसर: नेपाल, एचपी, एभरेस्टर सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार जुडो हल परिसर: नेपाल, एचपी र ओम
तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपी
चन्द्रागिरी नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपी र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी: नेपाल, एचपी, सूर्य, सगर, एभरेस्टर सुगम र एसटीसी

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र ग्यास बिक्रेतामार्फत पनि वितरण जारी रहेको स्पष्ट पारेको छ। साथै, नियमित बिक्रेताबाट ग्यास नपाएका तथा अत्यावश्यक आवश्यकता भएका उपभोक्तालाई मात्र वैकल्पिक वितरण केन्द्रमा पुग्न आग्रह गरेको छ।

यसअघि शनिबार काठमाडौंका पाँच स्थानबाट निगमले ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरेको थियो।

आइतबार, ३१ साउन २०८३, ०७ : २९

प्रतिक्रिया