भारतीय प्रधानसेनापति सेठ आज नेपाल आउँदै

आइतबार, ३१ साउन २०८३, १३ : १३

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष (प्रधानसेनापति) धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउँदै छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ आइतबार अपराह्न काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा सोमबार राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना गरी राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।

सोही दिन नेपाली प्रधानसेनापति सिग्देल र भारतीय प्रधानसेनापति सेठबीच जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने कार्यक्रम छ। भेटवार्तामा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध तथा सैन्य सहयोगका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ तथा ऐतिहासिक सम्बन्धका रूपमा लिइन्छ। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ।

विशेषगरी नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशबीचको विशिष्ट सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो। यो परम्परालाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ।

भारतीय प्रधानसेनापति सेठको नेपाल भ्रमणले दुई देशका सेनाबीच कायम रहेको सहकार्य र पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

आइतबार, ३१ साउन २०८३, १३ : १३

प्रतिक्रिया