एनआरएनए ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न, २१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड

सोमबार, ०१ भदौ २०८३, ११ : ४७

ग्वाङ्गन्जाओ (चीन)- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वाङ्गन्जाओमा भव्य रूपमा सम्पन्न भएको छ।

‘आरोहण २०२६ – राइजिङ टुगेदर, लिडिङ फरवार्ड’ भन्ने मूल नाराका साथ अगस्ट १४ देखि १६ सम्म आयोजना गरिएको यस सम्मेलनले प्रवासमा रहेका नेपालीहरूका गम्भीर सवालहरूलाई समेट्दै २१ बुँदे ‘ग्वाङ्गन्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ।

सम्मेलनले जारी गरेको २१ बुँदे घोषणापत्रमा गैरआवासीय नेपालीहरूको प्रमुख मागका रूपमा रहँदै आएको नागरिकताको निरन्तरतालाई प्राथमिकताका साथ उठाएको छ । नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका निर्णयहरूको स्वागत गर्दै सम्मेलनले संविधानको धारा १४ बमोजिम सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय

नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनी अड्चनहरू तत्काल फुकाउन माग गरेको छ। विशेष गरी वंशजको आधारमा प्राप्त नागरिकतालाई निरन्तरता दिनुपर्ने र ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मर्मलाई आत्मसात् गर्न सरकारलाई आग्रह गरिएको छ।

आर्थिक मुद्दाहरूमा केन्द्रित हुँदै सम्मेलनले नेपाल सरकारको समेत लगानी रहेको १० अर्बको ‘नेपाल एनआरएन डेभलपमेन्ट फन्ड’ मा गैरआवासीय नेपालीहरूको सामूहिक लगानीका लागि ८५ प्रतिशतसम्मको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने सरकारको निर्णयलाई ऐतिहासिक कदम भनेको छ।

यो फन्डलाई कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डले यथाशीघ्र निर्देशिका जारी गर्नुपर्ने र कानुनी प्रक्रिया पुरा गरी आईपीओमा जानुपर्नेमा जोड दिइएको छ। यसका साथै, विदेशमा रहेका नेपालीहरूको लगानीलाई प्रोत्साहन गर्न वार्षिक एक अर्बको ‘डायस्पोरा बण्ड’ जारी गर्ने प्रस्तावको समर्थन गर्दै दोहोरो कर प्रणाली अन्त्यका लागि द्विपक्षीय सम्झौता गर्न सरकारसमक्ष अनुरोध गरिएको छ।

प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिने विषयमा सर्वोच्च अदालतले २०७४ सालमा दिएको निर्देशनात्मक आदेश अझै कार्यान्वयन नभएको प्रति सम्मेलनले चिन्ता व्यक्त गरेको छ। आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने गरी अनलाइनमार्फत मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्न र आवश्यक ऐन–कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, म्यानमार, मलेसिया, थाइल्यान्ड लगायतका देशमा पुस्तौँदेखि बसोबास गरिरहेका नेपाली मूलका नागरिकहरूलाई ‘पिपुल्स अफ नेपाली ओरिजिन’ (पीएनओ) को परिचयपत्र प्रदान गर्न ढिलाइ भइरहेकोले यसलाई तत्काल अगाडि बढाउन माग गरिएको छ। वैदेशिक रोजगारीका क्षेत्रमा रहेका श्रमिकहरूको हकहितका लागि पनि सम्मेलनले महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ।

समस्यामा परेका श्रमिकहरूको राहतका लागि विभिन्न देशमा ‘श्रमिक सेल्टर’ स्थापना गर्ने, वैदेशिक रोजगार राहत कोषलाई प्रभावकारी बनाउने र श्रमिकहरूकै लागि समर्पित ‘श्रमिक अस्पताल’ नेपालमा निर्माण गर्ने जस्ता प्रस्तावहरू घोषणापत्रमा समावेश छन्। श्रमिकहरूलाई दक्ष बनाएर मात्र वैदेशिक रोजगारीमा पठाउन सीपमूलक तालिम केन्द्रहरूको व्यवस्था गर्न र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई पुनःस्थापना गर्न रणनीतिक योजना बनाउने प्रतिबद्धता जनाइएको छ।

दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोड्नका लागि सम्मेलनले विशेष कार्ययोजना तय गरेको छ। आगामी जनवरीमा ‘पछिल्लो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन’ आयोजना गर्ने र विदेशमा जन्मिएका बालबालिकालाई नेपाली भाषा, लिपि र संस्कार सिकाउने अभियान चलाइने घोषणा गरिएको छ।

साथै, नेपाली प्रतिभाहरूलाई विश्व बजारमा प्रवद्र्धन गर्ने सिलसिलामा ‘मिस वर्ल्ड नेपाल २०२६’ की विजेता दीपमाला ढकाललाई सम्मेलनले बधाई दिँदै आगामी मिस वर्ल्डमा सफलताको कामना समेत गरेको छ।

विज्ञान, प्रविधि र ज्ञान हस्तान्तरणको क्षेत्रमा पनि सम्मेलनले महत्त्वाकाङ्क्षी लक्ष्यहरू राखेको छ। विश्वभर फैलिएका नेपाली विज्ञ, वैज्ञानिक र प्राविधिकहरूको ज्ञानलाई नेपालको विकाससँग जोड्न ‘इन्टरप्राइज म्यापिङ’ गर्ने र डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

आगामी जनवरीमा चौथो ‘विश्व ज्ञान सम्मेलन’ आयोजना गर्ने र लाओस, भियतनाम तथा इस्ट टिमोरमा नयाँ एनआरएनए राष्ट्रिय समन्वय परिषद् गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ।

सम्मेलनको औपचारिक उद्घाटन सत्रमा नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रतिनिधिसभाका विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका संसदीय दलका उपनेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए ।

विशेष अतिथिका रूपमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर, नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल, श्रम संस्कृति पार्टीका आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बूओली र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, सोम शर्मा तथा खगेन्द्र सुनार लगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गरेका थिए ।

यस्तै, चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र विभिन्न कूटनीतिक नियोगका अधिकारीहरूसहित ५ सयभन्दा बढी प्रतिनिधिको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो।

अन्त्यमा, सम्मेलनले काठमाडौँमा सम्पन्न रणनीतिक कार्यशालाबाट तयार पारिएको ‘एनआरएनए रोडम्याप २०३०’ लाई कार्यान्वयन गर्ने र संघको निर्वाचन प्रणालीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन अनलाइन मतदानको व्यवस्था गर्ने सुनिश्चितता गरेको छ।

२१ बुँदे यो घोषणापत्र केवल दस्ताबेजमा मात्र सीमित नराखी यसको प्रगतिबारे आगामी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नियमित समीक्षा गरिने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको छ। एनआरएनए एसिया प्यासिफिक क्षेत्रले आगामी १२औँ सम्मेलन लाओसमा आयोजना गर्ने घोषणा गर्दै ग्वाङ्गन्जाओको तीन दिने ऐतिहासिक भेला समापन भएको छ।

सोमबार, ०१ भदौ २०८३, ११ : ४७

प्रतिक्रिया