अपडेट

पत्रकार किशोर श्रेष्ठ रिहा, कम्प्युटर तथा सञ्चार उपकरण तत्काल फिर्ता गर्न सर्वोच्चको आदेश

सोमबार, ०१ भदौ २०८३, २० : १५

काठमाडौँ—विद्युतीय कारोबार ऐन र वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा पक्राउ परेका जनआस्था साप्ताहिक एवं जनआस्था अनलाइनका सम्पादक किशोर श्रेष्ठलाई सर्वोच्च अदालतको आदेशपछि रिहा गरिएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो।

अदालतले श्रेष्ठलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाउनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गर्दै हाजिरी जमानी वा तारेखमा छाडेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ। साथै, अनुसन्धानका क्रममा उनको घर तथा कार्यालयबाट नियन्त्रणमा लिइएका कम्प्युटर, ल्यापटप र अन्य सञ्चार उपकरणहरू पनि तत्काल फिर्ता गर्न अदालतले आदेश दिएको छ।

जनआस्था अनलाइनमा प्रकाशित एक समाचार र तस्बिरले आफ्नो वैयक्तिक गोपनीयताको हक हनन गरेको भन्दै परेको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले श्रेष्ठलाई साउन २७ गते काठमाडौँबाट पक्राउ गरेको थियो।

सुनुवाइका क्रममा समाचारमा प्रयोग गरिएको तस्बिर जाहेरवाला स्वयंले पहिले नै सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेको पाइएकाले गोपनीयता भङ्गको गम्भीर कसुर आकर्षित नहुने अदालतको निष्कर्ष छ। आदेशलगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी श्रेष्ठ हिरासतमुक्त भएका छन्।

सोमबार, ०१ भदौ २०८३, २० : १५

प्रतिक्रिया