काठमाडौं - पछिल्लो एक हप्तामा दाङमा सबैभन्दा धेरै राप्ती ग्याँस १५ हजार ४ सय ६४ वटा सिलिण्डर आएको छ भने भेरी ग्याँस २ हजार २ सय ३४ र मनकामना ग्याँस २ हजार ३ सय २ वटा सिलिण्डर आयात भएको नेपाल आयल निगमको कार्यालय तुलसीपुरका प्रमुख विनोद बस्नेतले जानकारी दिए।
जबकि सामान्य अवस्थामा पनि दाङमा दैनिक १ हजार १ सय सिलिण्डरले पुगिरहेको ग्याँस बिक्रेता संघले जनाएको छ । घोराहीका अग्रणी ग्याँस व्यवसायी नरेश कार्कीले सरदर दैनिक ११ सय ग्याँस सिलिण्डर खपत हुने अवस्था थियो । तर हिजोआज दैनिक सरदर २ हजार आठ सय सिलिण्डर आयात हुँदा पनि ग्याँसको अभाव हटेको छैन ।
अध्ययनका लागि आएका विद्यार्थी, मजदुर, पेशाकर्मीले अहिले पनि ग्याँस पाउन सकेका छैनन् भने पावर, पहुँचको भरमा केही व्यवसायी र धेरैजसो उपभोक्ताहरुले नै घरमा स्टक राख्दा अभाव हट्न नसकेको सरोकारवालाहरुको भनाइ छ । ‘यो या त्यो बहानामा घरमा ग्याँसका सिलिण्डर थुपार्ने काम भइरहेको छ, घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख मोहनसिंह सुनारले भने – ‘अब घर घरमै अनुगमन जानुपर्ने अवस्था आइसकेको छ । कतिपयले तीन÷चारवटा सिलिण्डर भरेर घरमा राखेका छन् । अनुगमन जाऔं । त्यस्ता स्टक रोकौं ।’ उनले घरमा अनावश्यक स्टक राख्नेहरुमाथि छापा हानेर निकाल्ने हो भने ग्याँस बजार तत्काल सहज हुने बताए ।
ग्याँस बिक्रेता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष लालबहादुर केसीले लक्षित वर्गका नाममा समेत ग्याँस वितरणमा अनियमितता भइरहेको बताए । ‘विद्यार्थी, सुत्केरी, ज्येष्ठ नागरिकलाई समस्या नपरोस् भनेर ग्याँस बाँड्दै गर्दा गलत मान्छेहरुले विद्यार्थीको दूरुपयोग गरेर ग्याँस लगिरहेका छन्’– उपाध्यक्ष केसीले भने – ‘त्यस्तै दुरुपयोग ज्येष्ठ नागरिकहरुले गर्नुभएको छ । दुरुपयोग रोक्न सकेमात्रै ग्याँस वितरणमा सहजता आउँछ, यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।’
ग्याँसको वितरणलाई सहज बनाउन बिक्रेताहरुले टोकन प्रणाली लागु गरे । टोकन प्रणालीमा पनि लापरवाही भएको गुनासोपछि बिक्रेताले सिलिण्डर सडकबाटै वितरण गर्न थाले । तर सडकमा ग्याँस लिन आउनेको लाइन बढ्यो । खाली सिलिण्डरका लामा–लामा लाइन सडकमा देखिएपछि सरकारको आलोचना बढ्यो । त्यही आलोचना रोक्न र सरकारको लाज छोप्न स्थानीय प्रशासनले दाङमा मंगलबारदेखि उपभोक्तालाई लाइनमा ग्याँस वितरण नगर्न भनेको छ । नेपाल आयल निगमले पनि विज्ञप्ति नै जारी गरी नजिकको सम्बन्धित ग्याँसको डिलरबाट वितरणको व्यवस्था गर्ने भनेको छ भने स्थानीय प्रशासनले अब सम्बन्धित ग्याँस डिलरले नै उपभोक्ताको घरमै ग्याँस सिलिण्डर पु¥याइदिन व्यवसायीहरुलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया