अपडेट

अनलाइन व्यापार-व्यवसायको नियमनमा कडाइ, अब अनिवार्य सूचीकृत हुनुपर्ने

मंगलबार, ०२ भदौ २०८३, ११ : ३७

काठमाडौं । वेबसाइट, एप्लिकेसन तथा सामाजिक सञ्जालमार्फत वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले अब अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरुरी सूचना जारी गर्दै विद्युतीय माध्यमबाट व्यापार गर्ने सम्पूर्ण व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य सूचीकरण हुन निर्देशन दिएको हो।

पछिल्लो समय अनलाइन तथा डिजिटल माध्यमबाट उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री–वितरण गर्ने गुनासो बढ्दै गएपछि विभागले ई–कमर्स व्यवसायको नियमनमा कडाइ गरेको हो।

विभागले ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ।

सूचनाअनुसार ऐनको दफा ४ बमोजिम व्यवसाय सञ्चालन गर्नुअघि विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र दफा ५ बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने व्यवस्था छ।

कम्प्युटर, मोबाइल वा अन्य विद्युतीय उपकरणको प्रयोग गरी वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट तथा सामाजिक सञ्जालको मार्केटप्लेसलगायत माध्यमबाट सूचना सङ्कलन, सम्प्रेषण तथा वस्तु र सेवाको कारोबार गर्ने व्यवसाय ई–कमर्सअन्तर्गत पर्ने विभागले जनाएको छ।

यसअन्तर्गत दैनिक उपभोग्य वस्तुदेखि शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, बैंकिङ, बिमा, मर्मत–सम्भारलगायत विभिन्न वस्तु तथा सेवा समेटिनेछन्।

विभागले ई–कमर्ससम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा आइसकेकाले अनलाइनमार्फत व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरी विभागको पोर्टलमा सूचीकृत हुनुपर्ने स्पष्ट पारेको छ।

मंगलबार, ०२ भदौ २०८३, ११ : ३७

प्रतिक्रिया