गर्ल्स होस्टेल प्रकरण

‘न्यु फेमिलि गर्ल्स होस्टेल’को खानामा किरा भेटियो, गुनासो गर्दा छात्रालाई उल्टै सञ्चालकको धम्की

मंगलबार, ०२ भदौ २०८३, ११ : ४७

काठमाडौं- ललितपुरको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’मा खानामा किरा भेटिएको विषयमा गुनासो गर्दा छात्रालाई होस्टेल सञ्चालक र वार्डेनले धम्की दिएका छन् ।

छात्राहरूका अनुसार होस्टेलमा उपलब्ध गराइएको खानामा किरा भेटिएपछि उनीहरूले सञ्चालक तथा वार्डेनसँग गुनासो गरेका थिए। तर, गुनासो सम्बोधन गर्नुको सट्टा छात्रामाथि नै दबाब दिइएको र धम्की दिइएको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा घटनाका क्रममा एक छात्रालाई बेडमै राखेर सञ्चालक र वार्डेनले धम्की दिएका छन् । खानाको गुणस्तरबारे प्रश्न उठाउँदा आफूहरूलाई डर देखाउने तथा गुनासो नगर्न दबाब दिने गरिएको त्यहा बस्ने छात्राहरूको आरोप छ।

होस्टेलमा बस्ने छात्राहरूले आफूहरूको स्वास्थ्य र सुरक्षाप्रति व्यवस्थापन गम्भीर नभएको भन्दै घटनाको छानबिन र उचित कारबाहीको माग गरेका छन्। विशेषगरी विद्यार्थी बस्ने होस्टेलमा खाना तथा सरसफाइको गुणस्तरमा लापरबाही हुन नहुने उनीहरूको भनाइ छ।

घटनाबारे सम्बन्धित निकायले छानबिन गरी खानाको गुणस्तर, होस्टेलको व्यवस्थापन तथा छात्रामाथि धम्की दिइएको भनिएको विषयमा आवश्यक अनुसन्धान गर्नुपर्ने माग विद्यार्थीको छ । 

यस घटनाले विद्यार्थीका लागि सञ्चालित होस्टेलमा खानाको स्वच्छता, सरसफाइ र छात्राको सुरक्षाका विषयमा प्रश्न उठाएको छ। घटनाबारे होस्टेल व्यवस्थापनको आधिकारिक धारणा भने स्पष्ट हुन बाँकी छ।

मंगलबार, ०२ भदौ २०८३, ११ : ४७

प्रतिक्रिया