समाचार

प्रधानमन्त्री शाहसँग भारतीय सेनाध्यक्ष सेठको भेट, द्विपक्षीय सम्बन्धमा छलफल

मंगलबार, ०२ भदौ २०८३, १६ : ०९

काठमाडौं- प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सेनाध्यक्ष सेठले सोमबार प्रधान सेनापति सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा आपसी हित तथा नेपाल–भारतबीचको सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। सो अवसरमा उनले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए।

सेनाध्यक्ष सेठले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेका छन्। उनको नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ। सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

मंगलबार, ०२ भदौ २०८३, १६ : ०९

प्रतिक्रिया