काठमाडौं - रेडक्रस विशुद्ध मानवीय सेवाका लागि स्थापित संस्था हो । यो कुनै पनि राजनीति तथा अन्य सामाजिक विभेदहरुबाट मुक्त संस्था हो । यसमा सामाजिक अन्तरबिरोधको प्रभाव स्विकार्य हुँदैन । भ्रष्टाचारको त झन कल्पना पनि गरिदैन । मानवता, तटस्थता, स्वतन्त्रता, ऐच्छिक सेवा, विश्वव्यापकता जस्ता सिद्धान्तहरुको आधारमा चल्ने रेडक्रस अभियानमा लागेका व्यक्तिहरुबाट समेत आर्थिक अनियमितता र भ्रष्टाचार भएको समाचार आउनु दुखद र निन्दनीय छ ।
नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुमाथि यस्था आरोपहरु लाग्दै आएका छन् । नेपालमा रेडक्रसलाई राजनीतिकरण गर्दा नै यस्ता खालका विवादहरु आएको बुझुन सकिन्छ । भर्खरै नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गा खरिदका क्रममा अनियमितता तथा ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अनुसन्धानका क्रममा पूर्वअध्यक्ष थापासहित तत्कालीन पदाधिकारीलाई पक्राउ गरिएको हो।पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–३ स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ७० वर्षीय सञ्जीव थापा, मध्यपुर थिमी नगरपालिका–३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, नुवाकोटको समुन्द्रटार–६ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदनकृष्ण फोजु र काठमाडौं महानगरपालिका–१६ का ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन्।
सीआईबीका अनुसार उनीहरूमाथि नेपाल रेडक्रस सोसाइटीका लागि जग्गा खरिद गर्ने क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
रेडक्रस जस्तो पवित्र मानवीय र सामाजिक संस्थामा बढेको विकृतिले इमान्दार रेडक्रसकर्मीहरुलाई चिन्तित बनाएको हुनुपर्दछ । यदि आरोप सही सावित भएमा कडा कानुनी कारबाही हुनुपर्दछ । साथै रेडक्रसलाई राजनीतिक चंगुलबाट स्वतन्त्र राख्नुपर्दछ । बिगतमा रेडक्रसलाई सत्ता राजनीतिको अंग बनाइएकोले पनि तमाम खालका विकृतिहरु देखापरेका हुन ।
प्रतिक्रिया