नेपाली गीत-संगीतको मौलिकता हराउँदै गएकोमा गीतकार नवराज रायमाझीको चिन्ता

बुधबार, ०३ भदौ २०८३, १० : ३१

काठमाडौं- गीतकार नवराज रायमाझीले पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै नेपाली संगीतको मौलिक पहिचान जोगाउन गीतकार, कलाकार र संगीत क्षेत्रसँग सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन्।

काभ्रेका स्थायी बासिन्दा रहेका रायमाझीले त्यहाँबाटै सञ्चालित इपाना नेपाल सँगको अन्तर्वार्तामा नेपाली गीत–संगीतमा मौलिकता हराउँदै गएको र उत्ताउलोपन र अश्लीलतालनई प्रश्रय दिने गरेको भन्दै गुनासो गरेका हुन् । लामो समयदेखि गीत लेखनमा सक्रिय रायमाझीले भने, ‘गीत सिर्जना गर्दा शब्द, भाव र नेपाली समाजको यथार्थलाई विशेष प्राथमिकता दिनुपर्छ। गीत केवल मनोरञ्जनको माध्यम नभई भावना, अनुभव र समाजको प्रतिबिम्ब समेत हो।’

रायमाझीका अनुसार, पछिल्लो समय गीतसंगीतमा सिर्जनात्मकता र मौलिकताभन्दा उत्ताउलोपन तथा अश्लीलताले बढी प्राथमिकता पाउन थालेको छ। मनोरञ्जनका नाममा प्रस्तुत गरिने कतिपय सामग्रीले नेपाली समाजको सांस्कृतिक मूल्य र संगीतको गरिमामाथि समेत प्रश्न उठाउने अवस्था सिर्जना भएको उनको भनाइ छ।

उनले आफ्नो गीत लेखन यात्रामा व्यक्तिगत भोगाइ, सामाजिक परिवेश र जीवनका विभिन्न घटनाबाट प्रेरणा लिँदै आएको बताए। विशेषगरी परिवार, मातृप्रेम, देशप्रेम तथा मानवीय संवेदनासँग जोडिएका विषयले आफूलाई सिर्जनामा बढी आकर्षित गर्ने उनको भनाइ छ।

रायमाझीले विदेश बसाइका क्रममा प्राप्त अनुभवले पनि आफ्नो सिर्जनात्मक यात्रालाई प्रभावित गरेको बताए। नेपालभन्दा टाढा रहँदा मातृभूमि, परिवार र आफ्ना सम्बन्धहरूको महत्व अझ गहिरो रूपमा महसुस हुने भएकाले त्यस्ता अनुभूति गीत तथा साहित्यिक सिर्जनामा अभिव्यक्त हुने गरेको उनले बताए।

उनले आफ्नो सिर्जनामा ‘आमाको सम्झना’ जस्ता भावनात्मक विषयले विशेष स्थान पाएको बताउँछन् । उनी भन्छन् ‘आमाप्रतिको प्रेम, सम्झना र सम्मानलाई गीतमार्फत प्रस्तुत गर्ने क्रममा आफूले व्यक्तिगत अनुभूतिलाई समेत शब्दमा उतारेको छु।’

गीत लेखनसँगै साहित्यिक सिर्जनामा पनि सक्रिय रायमाझीले आगामी दिनमा कविता संग्रह प्रकाशन गर्ने तयारी गरिरहेको जानकारी दिए। गीतका शब्दमार्फत अभिव्यक्त हुन नसकेका कतिपय भावना र अनुभूतिलाई कवितामार्फत पाठकमाझ ल्याउने उनको योजना छ।

नेपाली गीतसंगीतमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक रूपमा लिँदै उनले नयाँ पुस्ताले प्रविधि र नयाँ शैलीसँगै नेपालीपन र मौलिकतालाई पनि केन्द्रमा राख्नुपर्ने बताए। समयअनुसार संगीतको शैली परिवर्तन हुनु स्वाभाविक भए पनि त्यस क्रममा नेपाली समाज, भाषा, संस्कृति र भावनाको मौलिकता गुम्न नहुने उनको धारणा छ।

रायमाझी भने, ‘नेपाली गीतसंगीतको भविष्य सिर्जनाको गुणस्तरमा निर्भर रहन्छ । लोकप्रियताका लागि मात्रै सिर्जना गर्ने प्रवृत्तिभन्दा दीर्घकालसम्म सम्झन सकिने र समाजमा सकारात्मक प्रभाव पार्ने सिर्जनालाई हरेक सर्जकले प्राथमिकता दिनुपर्छ ।’

बुधबार, ०३ भदौ २०८३, १० : ३१

प्रतिक्रिया