एनसेलले सरकारलाई बुझायो नवीकरण दस्तुरको थप ४ अर्ब ९६ करोड

विहीबार, ०४ भदौ २०८३, ११ : ३५

काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापत थप ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार रुपैयाँ सरकारलाई बुझाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन अर्यालका अनुसार एनसेलले बुधबार उक्त रकम प्राधिकरणको खातामा जम्मा गरेको हो। बुझाइएको रकममा बाँकी किस्ताबापतको ४ अर्ब २५ करोड रुपैयाँ तथा ब्याजसमेत समावेश छ।

यसअघि एनसेलले गत भदौ ६ गते ३ अर्ब २९ करोड र २०८२ असार २९ गते २ अर्ब रुपैयाँ भुक्तानी गरेको थियो।

सरकारले एनसेललाई २० अर्ब रुपैयाँको नवीकरण दस्तुर चार किस्तामा बुझाउने सुविधा दिएको थियो। मन्त्रिपरिषद्ले बाँकी किस्तामा वार्षिक १० प्रतिशत ब्याज लिने निर्णय गरेपछि एनसेलले सोहीअनुसार भुक्तानी गर्दै आएको छ।

एनसेलले स्थापनाकालदेखि हालसम्म कर तथा विभिन्न शुल्कबापत करिब ३ खर्ब ७५ अर्ब रुपैयाँ राज्यलाई बुझाइसकेको जनाएको छ।

विहीबार, ०४ भदौ २०८३, ११ : ३५

प्रतिक्रिया