काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाएको छ। आयोगका अनुसार ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढाइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। आयोगले तीन पूर्वप्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक, मालपोत कार्यालयसहित २० भन्दा बढी निकायलाई कारोबार र सम्पत्तिको विवरण मागेको छ।
दरबारमार्गको सरकारी जग्गा बदनियतपूर्वक सस्तोमा यती समूहलाई लिजमा दिएको प्रकरणको अनुसन्धानपछि बज्राचार्यबारे अनुसन्धान गर्न प्रहरीले अख्तियारलाई सिफारिस गरेको थियो। यती समूहसँग बज्राचार्यले बालकोटमा चार करोड रुपैयाँ पर्ने जग्गा लिएको खुलेपछि अख्तियारमार्फत अनुसन्धान गर्नुपरेको बताइएको छ।
यसैगरी, भानु देउवाको बैंक खाताको विवरण, सेयर, घरजग्गा, सवारीसाधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानीलगायतका विस्तृत विवरण लिइएको छ। त्यस्तै पूर्वप्रधानमन्त्री दाहालकी छोरीसमेत रहेकी गंगाको आर्थिक कारोबारको विवरण अनुसन्धान अधिकृतहरूले अध्ययन गरिरहेका छन्। अख्तियारले उनका पति जीवन आचार्यको सम्पत्तिबारे समेत छानबिन गरिरहेको छ।
अख्तियार सूत्रका अनुसार तीनै जनासँग चाँडै बयान लिने तयारी भइरहेको छ।
प्रतिक्रिया