सार्वजनिक लेखा समितिको बैठक

वैदेशिक सहायता जुटाउन अब सहज छैन : अर्थमन्त्री वाग्ले

विहीबार, ०४ भदौ २०८३, १३ : ५७

काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक सहायता परिचालनको समय अब निकै कठिन बन्दै गएको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा वैदेशिक सहायताको प्रभावकारिता र उपयोगबारे जानकारी दिँदै अर्थमन्त्री वाग्लेले विगतमा प्राप्त अवसरलाई नेपालले सदुपयोग गर्न नसकेको बताए।

उनका अनुसार अनुदान सहायता र द्विपक्षीय विकास सहायता क्रमशः घट्दै गएको छ। अहिले नेपालले मुख्यतः बहुपक्षीय विकास सहायतामा निर्भर हुनुपर्ने अवस्था रहे पनि त्यस्तो ऋणसमेत पहिलेजस्तो सहज नभएको उनले बताए।

बहुपक्षीय विकास साझेदारबाट प्राप्त हुने ऋणमा ब्याजदर बढ्दै जाने, ग्रेस अवधि घट्ने र भुक्तानी अवधि छोटिँदै जाने वाग्लेको भनाइ छ।

विगतमा शीतयुद्धको समयमा प्रतिस्पर्धाका कारण नेपालले महेन्द्र राजमार्गका केही खण्ड, ढल्केबर–पथलैया, नारायणगढ–हेटौँडा र धरान–धनकुटाजस्ता सडक अनुदानबाट निर्माण गर्न सकेको उनले स्मरण गरे।

तर अहिले परम्परागत वैदेशिक सहायता स्रोतहरू सुक्दै गएको उनको भनाइ छ। बेलायत र अमेरिकाजस्ता देशले समेत अनुदान सहायता कटौती गर्दै गएको तथा संयुक्त राष्ट्रसंघजस्ता संस्थासमेत आर्थिक संकटमा रहेको उनले बताए।

वाग्लेका अनुसार अहिले निर्माण भइरहेका नारायणगढ–बुटवल र मुग्लिन–पोखराजस्ता ठूला सडक आयोजना अनुदानमा नभई विश्व बैंक र एसियाली विकास बैंकको ऋणमा निर्माण भइरहेका छन्। यी संस्थाबाट प्राप्त हुने ऋणका सर्तसमेत पछिल्लो समय थप कडा हुँदै गएको उनले बताए। 

विहीबार, ०४ भदौ २०८३, १३ : ५७

प्रतिक्रिया