काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ। अवार्डको २३औँ संस्करण यही भदौ १८ गते काठमाडौंमा हुँदै छ। इम्बार्क कलेज अवार्ड कार्यक्रममा ‘हाइयर एजुकेसन पार्टनर’को रूपमा जोडिएको हो।
‘हाइयर एजुकेसन पार्टनर’ बनेबापत मञ्चले छनाेट गर्ने एकजना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाखसम्मको) प्रदान गर्नेछ। मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रमहरूमा इम्बार्क कलेजले सहयोग गर्नेछ।
सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आसिस ठाकुरको तर्फबाट नीरज न्यौपानेले हस्ताक्षर गरे। मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो। नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्त्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड’को २३औँ संस्करणको तयारी अन्तिम चरणमा पुगिसकेको छ।
नेपाली खेलकुदलाई उच्च स्थानमा पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। यसपटक फुटबलकी पूजा राना, एमएमएका रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र कराँतेकी सानुमाया थिङ यो विधाको मनोनयनमा छन्। मनोनयनमा परेकाहरूलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको फेसबुक पेज र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा नाै विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट अनर र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड दिइनेछ।
प्रतिक्रिया