समाचार

सुटुक्क मुस्ताङ यात्रामा निस्किए प्रधानमन्त्री शाह, सुरक्षा निकाय बेखबर

शुक्रबार, ०५ भदौ २०८३, ११ : ०९

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सरकारी गाडीमार्फत काठमाडौं–पोखरा हुँदै मुस्ताङ जाने कार्यक्रमका साथ पोखरातर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीको पोखरा भ्रमणबारे सुरक्षा निकायलाई भने औपचारिक जानकारी नभएको बताइएको छ। कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट भ्रमणबारे कुनै जानकारी प्राप्त नभएको बताए।

मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले पनि भीभीआईपी भ्रमणबारे जानकारी नआएको बताए। यद्यपि आवश्यक सुरक्षा प्रबन्ध गर्न समस्या नरहेको उनको भनाइ छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार अपराह्न पोखरा पुग्नेछन्। उनी कास्कीको अन्नपूर्ण गाउँपालिका–अस्तामस्थित एक रिसोर्टमा रात बिताउने तयारीमा छन्। स्रोतका अनुसार प्रधानमन्त्रीका लागि उक्त रिसोर्ट बुक भइसकेको छ र दिउँसो करिब ३ बजे उनी रिसोर्ट पुग्नेछन्। त्यसपछि प्रधानमन्त्री शाह मुस्ताङतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।

शुक्रबार, ०५ भदौ २०८३, ११ : ०९

प्रतिक्रिया