काठमाडौं– नेकपा एमाले भक्तपुर जिल्ला समितिका उपाध्यक्ष किरण थापा बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षबाट राजनीतिक यात्रा अघि बढाएका थापा अहिले बागमती प्रदेश सरकारको नेतृत्वमा पुगेका हुन् ।
थापा बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी २०७४ सालको स्थानीय निर्वाचनमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
नेकपा एमाले बागमती प्रदेशसभाको संसदीय दलको नेता समेत नरहेका थापालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा मुख्यमन्त्री बनाइएपछि पार्टीभित्र असन्तुष्टि समेत बढेको बताइएको छ ।
थापा नेतृत्वको बागमती प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेल तेस्रो वरियतामा रहेर आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । पौडेल नेकपाको तर्फबाट थापा नेतृत्वको मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।
पौडेल यसअघि साविक नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टी गठन भएपछि उनी बागमती प्रदेशको संयोजक बनेका हुन् । पौडेल सिन्धुपाल्चोक–१ (क)बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
एमाले जिल्ला उपाध्यक्ष थापाको नेतृत्वमा बनेको बागमती प्रदेश सरकारमा नेकपाका प्रदेश संयोजक पौडेल पनि मन्त्रीका रूपमा सहभागी भएका छन् । जिल्ला उपाध्यक्ष नेतृत्वको मन्त्रिमण्डलमा पार्टीकै प्रदेश संयोजकको सहभागितालाई लिएर राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भएको छ ।
प्रतिक्रिया