काठमाडौं - पार्टीले केन्द्रीय समितिको बैठक बोलाएकै दिन मुस्ताङ यात्रामा निस्किएका प्रधानमन्त्री बालेन्द्र साहका गतिधिलाई घुमाउरो तरिकाले नियन्त्रण गर्न खोजेका रविमाथि बालेनपक्ष क्रुद्ध भएको बताइन्छ । सभामुख मार्फत् संसदभित्र कालो चश्मा ब्याण्ड गराएको बुझाई बालेन पक्षको रहेको छ । राज्य सत्ताको सम्पूर्ण जिम्मेवारी हातमा लिएर बसेका दुई तिहाइका शक्तिशाली प्रधानमन्त्रीले आफू ‘एक्लिएको’ महसुस गरेपछि सत्तारुढ रास्वपाभित्र अन्तर कलह उत्कर्षमा पुगेको अनुमान लगाउन अब निंधार खुम्च्याइरहन परेन
रास्वपा आफैमा फरक पृष्ठभूमि र वैचारिक धारका महत्वाकांक्षी पात्रहरूको जमघटजस्तो छ । सुरुदेखि नै रास्वपामा प्रष्ट दुई धार देखिदै आएको छ । प्रधानमन्त्री बालेनले पार्टीलाई कुनै इज्जत नदिएको अर्को पक्षको आरोप छ । दलको नेता बन्ने बैठकबाहेक अरु कुनै बैठकमा बालेन गएका छैनन् । यी दुईबीच सरकार र पार्टीमा को हावी हुने भन्ने होडबाजी चलिरहेको देखिन्छ । प्रधानमन्त्रीको एक्लिएको स्टाटससम्म आइपुग्दा अविश्वास थप गहिरिँदै गएको बुझ्न कठिन छैन । यसबीच विवाद बेलैमा समाधान नभए सार्वजनिक ‘भण्डाफोर’ को तहमा पुग्ने सम्भावना औंल्याउन थालिएको छ ।
आजसम्म आइपुग्दा पार्टीमा दरार निकै बढिसकेको कार्यकर्ताहरुमा छmफल हुन थालिसकेको छ । दुवै पक्ष एक अर्काको कमजोरीलाई हतियार बनाएर ‘देखाइदिने’ तयारीमा रहेको दावी गरिँदैछ । एक स्रोतकाअनुसार सभापति स्वयं सरकारलाई कमजोर बनाउने खेलमा लागेको निष्कर्षमा पुगेको बालेन समूहले ‘काउण्टर रणनीति’ बनाइसकेको छ । त्यसमा तामेलीमा रहेको रविको पासपोर्ट मुद्दा जगाउनेदेखि आर्थिक हिनामिनाको विषय छरपष्ट पार्नेसम्मका योजना रहेको बताइन्छ । अविश्वास कतिसम्म चुलिएको देखिन्छ भने रविले आफ्नो मुद्दा सल्टाउने शर्तमा सुधन गुरुङलाई अझै माथि लग्न लागेको आशंकामा बालेन टिम छ । त्यस्तै तराई–मधेशको घटनालाई योजनाबद्ध राष्ट्रिय मुद्दा बनाएको र पछि आफैँ समाधानकर्ता बनेर उभिने दोहोरो चाल चालेको बुझाइ पनि बालेनपक्षको रहेको छ । यति मात्र होइन, अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत ‘प्रधानमन्त्रीको सचिवालयमा २९ जना राखेको’ भन्न लगाइएको समेत बालेनपक्षको बुझाइ छ ।
सांसदहरुलाई संसदीय मर्यादा र भूमिका सिकाउने भने र बोलाइएको बैठकमा रविले सार्वजनिक कार्यक्रमबाट ‘सरकारलाई नत्थी लगाउने तागत पार्टीसँग छ’ भनेपछि बालेन पक्ष थप चिढिएको छ । रविले आफूनिकट ‘सिधा कुरा’ र नयाँ पत्रिकाबाट सरकारविरोधी समाचार लेखाएको बुझाइमा रहेका बालेनले त्यसको ‘माइन्युट्ली’ अध्ययन गराइरहेको र पार्टी बैठकमा कडिकडाउ कुरा राख्ने तयारी गरेको पनि बुझिएको छ ।
पार्टीमा भुसको आगो सल्किदै गएको र कुनै दिन त्यो उत्कर्षमा पुग्ने चर्चा हुन थालेको छ । विभिन्न विवादहरुका बीच बालुवाटारको असन्तुष्टिको अर्को मुख्य विषय हो, उद्योगमन्त्री गौरीकुमारी यादवसम्बन्धी विवाद । आफूले हटाउन खोजेको मन्त्रीलाई हातमा लिएर ग्यासको अभाव सिर्जना गराउने र सरकारलाई असफल देखाउने रणनीति अपनाएको बुझाइमा बालेन रहेको बताइन्छ । यसको काउण्टरमा रविको मुद्दा जगाउनेदेखि आर्थिक हिनामिनाको विषय बाहिर ल्याएर साइजमा राख्ने काउण्टर योजनाअघि सारिएको दावी गर्दै स्रोत थप्छ– ‘दशैँ तिहारपछि केही भइहाल्यो भने त्यो अचम्म नमान्दा हुन्छ।’
आन्तरिक विवाद बढ्दै जाँदा चितवन महाधिवेशनमा भएको खर्चको हिसाब खोज्ने तयारीसमेत हुँदै छ । महाधिवेशनमा प्रतिनिधि शुल्क र उम्मेदवारी दस्तुरवापत संकलित रकमको हिसाबले नदेखाइएको उक्त पक्षको दावी रहेछ । रास्वपाले प्रतिनिधि शुल्क ५ हजारका दरले उठाएको थियो भने सभापति, पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारले क्रमशः ५१, ४१ र २१ हजार बुझाएका थिए । अधिकांश प्रतिनिधिले मोबाइल बैंकिङबाट रकम भुक्तानी गरेका थिए भने कतिपयले महाधिवेशनस्थलमै तिरेका थिए । यसरी उठेको ९२ लाख रूपैयाँको हिसाब पार्टीमा नदेखाएको आरोप पनि लागेको छ । त्यसैगरी पार्टी कार्यालय निर्माणका लागि संकलित करोडौँ रकमको हिसाब समेत गोलमाल भएको एउटा समूहको भनाइ छ ।
प्रतिक्रिया