महासंघको ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान

आइतबार, ०७ भदौ २०८३, १५ : ०८

काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल आज जापान प्रस्थान गरेको छ । जापानको इन्फोर्मा मार्केट्स जापान कम्पनी लिमिटेड तथा जापान ज्वेलरी एसोसिएसनको संयुक्त आयोजनामा टोक्योमा २०८३ भदौ १० गतेदेखि १२ गतेसम्म आयोजना हुने “Japan Jewellery Fair (JJF) -2026” को अवलोकन तथा सहभागिताका लागि प्रतिनिधिमण्डल जापान प्रस्थान गरेको हो ।

जापान भ्रमणका क्रममा प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन तथा इन्फोर्मा मार्केट्स जापानका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरी नेपाल र जापानका रत्न तथा आभुषण उद्योगबीच आपसी सहयोग, ज्ञान तथा प्रविधि आदान–प्रदान र व्यावसायिक सहकार्यका विषयमा छलफल गर्नेछ । महासंघले नेपाली गरगहना उद्योगको स्तरोन्नति तथा अन्तर्राष्ट्रियकरणका लागि जापानका सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्दै उच्च प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तरण, व्यापार तथा लगानी प्रवद्र्धन, बजार पहुँच विस्तार, व्यावसायिक अवसरको सिर्जना, सीप विकास तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ । साथै, रत्न तथा आभुषण उद्योगको दिगो विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि संयुक्त प्रदर्शनी, कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने विषयमा समेत सहकार्य गरिनेछ ।

भ्रमणका क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र जापान ज्वेलरी एसोसिएसनबीच आपसी सहयोग र सहकार्य सम्बन्धी समझदारी–पत्र (MOU) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त समझदारीमार्फत दुवै देशका रत्न तथा आभुषण उद्योगबीच ज्ञान, प्रविधि, सीप, व्यापार, लगानी तथा व्यावसायिक अवसरको आदान–प्रदानलाई थप संस्थागत बनाउने अपेक्षा गरिएको छ । 

यसैसगैं जापनस्थित नेपाली राजदुतावासका कार्यवाहक राजदूत हरि हर कान्त पौडेल तथा गैरआवासीय नेपाल संघ, जापानका अध्यक्ष सुवास लामिछाने लगायतका अन्य पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिनिधिमण्डलमा महासंघका सचिव केशर बहादुर विश्वकर्मा, कार्यसमिति सदस्यहरू सूर्य बराल र दाना हमाल, कार्यालय प्रमुख राम महर्जन तथा महासंघमा आबद्ध सदस्य संस्थाहरूबाट प्रतिनिधित्व गर्ने व्यवसायीहरू इच्छा हर्ष बज्राचार्य, कमला विश्वकर्मा, राधा गुरुङ बराल, सन्देश हमाल, जोखिम तामाङ, प्रलाद मल्ल, हिरा लाल वि.क., विष्णु सुनार, दिनेश बाबु विश्वकर्मा, लक्ष्मी घतानी, सालिक राम रसाइली, शिव कुमार विश्वकर्मा, प्रेम बहादुर सुनार, बुद्धि सागर गर्ताैला, धन बहादुर बराईली, लक्ष्मी गहतराज, रमेश सुनार, कुमार सुनेल, रुपेश विश्वकर्मा, जयराम खाती, देवेन्द्र शंकर, पूजा थापा, श्याम ल्वागुन सुनार, अनिषा सुनार, भरत वि.क., दिपेन विश्वकर्मा, रुवी अग्रवाल, मनोज पोद्वार र अंकित खड्काथोकी रहेका छन् ।
 

आइतबार, ०७ भदौ २०८३, १५ : ०८

प्रतिक्रिया