रुसले 'चर्को धम्की' दिए पनि युक्रेनलाई निरन्तर सहयोग गर्न ब्रिटिश प्रधानमन्त्री दृढ

मंगलबार, ०९ भदौ २०८३, १६ : १६


ब्रिटिश प्रधानमन्त्री बनेपछि युक्रेनको पहिलो औपचारिक भ्रमणका क्रममा एन्डी बर्नमले मस्कोले दिएको "चर्को धम्की"का बावजुद रुसमाथि दबाव कायम राख्ने वाचा गरेका छन्।

बर्नमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे र आफ्ना पूर्ववर्ती सर किअर स्टार्मरको नेतृत्वमा यूके र फ्रान्सले युक्रेनलाई सघाउन स्थापना गरेको गठबन्धनको पहिलो बैठकको अध्यक्षता गरे।
उक्त गठबन्धनले यथाशक्य प्रयास गरेको भन्दै उनले अमेरिकी संसद्लाई रुसमाथि आर्थिक दबाव बढाउन आह्वान पनि गरे।
ब्रिटिश सरकारले 'स्काल्प' क्षेप्यास्त्रमा प्रयोग भएका यूकेका पाटपुर्जाका 'ब्लूप्रिन्ट' हस्तान्तरण गर्ने सहमति गरेको छ। 'स्काल्प' यूकेको 'स्टोर्म श्याडो'जस्तै तर फ्रान्समा निर्मित क्षेप्यास्त्र हो। ब्लूप्रिन्ट हात परेपछि युक्रेनले स्वदेशमै लामो दूरीका अस्त्र बनाउन सक्ने छ।
बर्नमले साझेदारहरूले युक्रेनलाई हवाई प्रतिरक्षाका लागि "हाम्रो आफ्नै भण्डार खोतल्न र अरूलाई उनीहरूको भण्डार खोतल्न सहयोग गर्न" आफूले "गर्न सक्ने सबै कुरा" गरिरहेको बताएका।
"यो रुसमाथि दबाव कायम राख्ने क्षण हो, यो अवैध युद्धका लागि खर्च जुटाउने उनीहरूको क्षमता निचोर्ने क्षण हो," बर्नमले युक्रेनी जनताको "शक्ति" को प्रशंसा गर्दै भने।

"युक्रेन युरोपको रक्षक भएको छ। [युक्रेन] हाम्रो सुरक्षाका लागि भार होइन, बरु युरोपलाई सुरक्षित बनाइराख्न अग्रपङ्क्तिमा बनेको छ।"

क्रेम्लिनले के भन्यो
क्रेम्लिनका प्रवक्ता दिमित्रि पेस्कोफले क्षेप्यास्त्रको ब्लूप्रिन्ट हस्तान्तरण गर्ने यूकेको निर्णयको आलोचना गरेपछि बर्नमले प्रतिक्रिया व्यक्त गरेका हुन्। पेस्कोफले यूकेको कदमका कारण शान्ति स्थापना गर्ने दिशामा भएको "सानो प्रगति" पनि अवरुद्ध भएको बताएका थिए।

उनले सोमवार पत्रकारहरूलाई रुसी सेनाले कुनै पनि क्षेप्यास्त्र उत्पादनस्थलहरू पत्ता लगाउन र त्यसलाई ध्वस्त पार्ने डेटा सङ्कलन गरिरहेको बताए।

"ब्रिटेन यो युद्धमा युक्रेनी सत्ताको पक्षमा सहभागी छ। ब्रिटेन योजनाबद्ध तरिकाले र नियमित रूपमा आगोमा घिउ थप्ने काम गर्छ," उनले भनेका थिए।

त्यसबारे प्रतिक्रिया व्यक्त गर्दै बर्नमले भने, "आगो लगाउने काम कसले सुरु गर्‍यो? प्रश्न त्यो हो, होइन र?"

उनले 'मिसाइल इन्टरसेप्टर' अर्थात् शत्रुपक्षले प्रहार गरेका क्षेप्यास्त्रहरूलाई आकाशमै नष्ट पारिदिने क्षेप्यास्त्रहरूको विषय युक्रेनलाई सहयोग जुटाउन बनाइएको गठबन्धनको मुख्य विषय हुने बताए।
बर्नमले हालैका साताहरूमा युक्रेनमा बढ्दो रुसी हमलाको पृष्ठभूमिमा किएभका लागि यूकेको समर्थनलाई दोहोर्‍याएका छन्। गत शुक्रवार एउटा किनमेल केन्द्रमा कम्तीमा १६ जनाको ज्यान गएको थियो।
बैठकपछिको एउटा संयुक्त विज्ञप्तिमा बर्नम र फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र जर्मन चान्स्लर फ्रिड्रिख मेर्टस्‌ले यो समूहले किएभको हवाई प्रतिरक्षालाई "तत्काल प्राथमिकताको विषय" का रूपमा बलियो बनाउने लक्ष्य राख्ने बताएका छन्।

भ्लादिमिर पुटिनको रुसले किन युक्रेन अतिक्रमण गर्‍यो?

युक्रेन युद्ध: महिनौँपछि राजधानी किएभसहित कैयौँ क्षेत्रमा रुसको व्यापक आक्रमण
उनीहरूले मस्कोले "युक्रेनका सहरहरू, महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू र नागरिकहरूविरुद्ध व्यापक र बढ्दो हमलाको पनि निन्दा गरे। उनीहरूले 'श्याडो फ्लीट'विरुद्ध प्रतिबन्ध र कारबाहीको माध्यमबाट युद्धका लागि रुसले जुटाउन खर्च सीमित पारिदिने उद्घोष गरे।

'कोअलिशन अफ द विलिङ' युक्रेनसहित ३४ देशहरूको गठबन्धन हो।

"नेताहरूले एकपटक फेरि युक्रेनको स्वतन्त्रतालाई समर्थन गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याए," सोमवार किएभमा वा भिडिओ कन्फरेन्समार्फत् बैठकमा सहभागी भएका सदस्यराष्ट्रहरूले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्।

सहयोग र साझेदारी
युक्रेनलाई सहयोग जुटाउन गठित गठबन्धनको बैठकमा नेताहरूतस्बिर स्रोत,Reuters
तस्बिरको क्याप्शन,युक्रेनलाई सहयोग जुटाउन गठित गठबन्धनको अध्यक्षता बर्नमले किएभमा गरे 
यसैबीच युरोपेली सङ्घ (ईयू)ले युक्रेनको हवाई रक्षा प्रणालीलाई सुदृढ बनाउन ६.१ अर्ब यूरो (५.२ अर्ब पाउन्ड) जतिको सैन्य सहायता निकास गरेको बताएको छ।

यो वित्तीय सहयोग ईयूले युक्रेनलाई उपलब्ध गराउने ९० अर्ब यूरो ऋणको एउटा भाग हो।

ब्रिटेन र युक्रेनले एउटा नयाँ सैन्य प्रविधि साझेदारीको पनि घोषणा गरेका छन्। उक्त साझेदारीका कारण अब ब्रिटिश विज्ञहरूले किएभको 'एभेन्जर्स एआई ल्याब्स' नामक डेटाबेसमा पहुँच प्राप्त गर्ने छन्।

ब्रिटिश प्रधानमन्त्रीको कार्यालयका अनुसार युक्रेनले युद्धमैदानका विवरणहरू सङ्कलन गर्न सेन्सर र क्यामराहरूको प्रयोग गरेको छ।

उसले त्यसलाई दुवै देशले सामना गरेका "प्रमुख राष्ट्रिय सुरक्षा चुनौतीहरू समाधान गर्न" एआई मोडेलहरूलाई तालिम दिन प्रयोग गर्न सकिने जनाएको छ।

बीबीसी न्यूज नेपाली 

मंगलबार, ०९ भदौ २०८३, १६ : १६

प्रतिक्रिया