अपडेट

रसुवाको टिमुरेमा आकस्मिक बाढी, अधिकांश घर बगाएको आशंका

बुधबार, १० भदौ २०८३, १० : ३५

रसुवा– रसुवा जिल्लाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। बिहान करिब ९ बजे आएको बाढीले बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीले टिमुरे बजारका धेरै घर बगाएको प्रारम्भिक सूचना प्राप्त भएको छ। उनका अनुसार बजारमा ५–७ वटा घर मात्र बाँकी रहेको सूचना आएको छ। यद्यपि, क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा समेत क्षति पुगेको आशंका गरिएको छ। कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्रै सम्पर्कमा आएका छन्। बाँकी प्रहरीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको डीआईजी रेग्मीले बताए।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ।

महाशाखाले अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

बुधबार, १० भदौ २०८३, १० : ३५

प्रतिक्रिया