के सेयर बजारको ग्राफ फेरि बढ्ला ?

बुधबार, १० भदौ २०८३, १३ : ३३

काठमाडौं - सेयर बजारमा आएको बदलाव अहिले पनि कायमै छ । लगातार घटेको नेप्से परिसूचक गत असार २९ गते २५७० विन्दुसम्म पुगेर रोकिएको छ ।

सो समय धितोपत्र बोर्डले बजार सुधारका विभिन्न दस्तावेज सार्वजनिक गरेको थियो। बैंकहरूको ब्याजदर थप घटेको थियो। अनि संघीय संसदमा सांसदहरूले घट्दो बजारबारे चासो राखेका थिए। यसले पनि बजारमा सुधार देखियो।

६ दिनसम्म लगातार बढेर नेप्से २७२६ विन्दुसम्म पुग्यो। त्यसपछि बजारले वृद्धि कायम राख्न सकेन।

तर पहिले जति छोटो अवधिमा बजार बढेको थियो, पछि घट्न त्योभन्दा लामो समय लाग्यो। मंगलबार बजार २५९४ विन्दुमा आएको छ। यसले बजार घटिहाल्न पनि तयार भएको छैन भन्ने देखाउँछ।

अहिले नेप्सेका लागि यसअघिको २५७० को विन्दु दरिलो टेवा बन्ने सम्भावना छ।

नेप्सेको रेखाचित्रहरूमा बन्ने यसअघिको उच्च र न्यून विन्दुहरू समयक्रमसँगै टेवा वा प्रतिरोध विन्दुमा परिणत हुन थाल्छन्।

यसअघि २५७० बाट नेप्से बढेकाले यो विन्दु दरिलो टेवा हुने देखिएको हो।

मंगलबार पनि नेप्से एकाध पटक २५८८ विन्दुसम्म पुगेर फर्किएको छ।

नेप्सेले २६०० विन्दुलाई पनि अहिले प्रतिरोध बनाइरहेकाले बजारमा अब किन्ने र बेच्ने कुन शक्ति हाबी हुन्छ, त्यसैमा बजारको आगामी प्रवृत्ति निर्भर हुनेछ।

अहिले बजारमा रहेका केही कम्पनीहरूले आकर्षक लाभांश घोषणा गरिरहेका छन्। निक्षेपमा कम ब्याज पाइरहेकाहरूलाई यस्तो लाभांशले आकर्षित गर्न सक्छ।

त्यसैले पनि आगामी दिनमा सूचीकृत कम्पनीहरूले कुन दरमा लाभांश प्रस्ताव गर्न थाल्छन्, त्यसले पनि बजारलाई निर्देशित गर्नेछ।

अहिले बजारमा निराशा हटिसकेको अवस्था छैन। ुमनी फ्लो इन्डेक्सु घट्दै २८ विन्दुमा आएको छ। यो सूचक २० भन्दा तल आउँदा बजारमा अधिक बिक्री बढेको संकेत गर्छ। यसले बजारबाट पैसा बाहिरिने क्रम नै धेरै रहेको देखाइरहेको छ।

त्यस्तै, वाइल्डरको १४ दिने आरएसआई थप घटेर १५।८३ मा छ। सोमबार यस्तो मान १६।२१ थियो। यसले बजारमा अधिक बिक्री बढेको देखाइरहेको छ।

विगत एक महिना (२२ कारोबार दिन) मा पाँच करोड बराबर डिस्ट्रिब्युसन र तीन करोड २५ लाख बराबर एकुमुलेसन भएको छ। एकुमुलेसन डिस्ट्रब्युसन मान एक करोड ७९ लाखले ऋणात्मक भएको छ। यसले बजारमा खरिददारी भन्दा बिक्री नै बढिरहेको संकेत गरिरहेको छ।

विगत दुई वर्षयताको ३००० को उच्च विन्दु र २४६४ को न्यून विन्दुलाई आधार मान्दा अहिले नेप्सेले २५९० विन्दुमा २३ प्रतिशत रिट्रेसमेन्ट परीक्षण गरिरहेको छ।

यसअघि २५७० विन्दुमा बजार रहँदा बलियो खरिददारी देखिएकाले यो तह अहिले महत्वपूर्ण टेवा बन्न सक्छ।

तर यसबीच २५७० बाट २७२६ सम्मको सुधार टिक्न नसकेर बजार पुनः २५९४ मा फर्कियो। यसले खरिद पक्ष अझै बलियो भइसकेको देखिँदैन।

बजार २५७० मा आइपुग्दासम्म खरिददारी बढेर २६०० र त्यसपछि २६६२ आसपासको तह पार गर्न सके् मात्र सुधारले गति लिन सक्ने देखिन्छ।

बुधबार, १० भदौ २०८३, १३ : ३३

प्रतिक्रिया