काठमाडौं- नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रका सेवाग्राहीलाई सञ्चार सेवा सहज बनाउन विशेष सुविधा उपलब्ध गराउने भएको छ।
बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै नेपाल टेलिकमले एसएमएसमार्फत सचेतना सन्देश पठाइरहेको छ। साथै, विपद्को अवस्थामा सूचना आदानप्रदान सहज बनाउन ती क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म भ्वाइस कल निःशुल्क उपलब्ध गराउने भएको छ।
त्यस्तै, सेवाग्राहीले प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न सक्नेछन्। नेपाल टेलिकमले बाढीसम्बन्धी सूचना तथा सावधानीका सन्देशसहितको सचेतनामूलक रिङब्याक टोनसमेत बजाइरहेको जनाएको छ।
बाढीका कारण नेपाल टेलिकमको नेटवर्क पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा टावरमा क्षति पुगेको छ।
त्यसैगरी, गल्छीदेखि रसुवा बोर्डरसम्म रहेको फाइबर लिंकमा समेत क्षति पुगेको नेपाल टेलिकमले जनाएको छ। सञ्चार सेवा यथाशीघ्र नियमित बनाउन मर्मत तथा सम्भारका लागि नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर खटिएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई सावधानी अपनाउन तथा उपलब्ध सञ्चार सेवाको आवश्यकताअनुसार प्रयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया