काठमाडौं- रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिम्मुरे, स्याउलाखेतलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
नगरपालिकाले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै बाढीबाट प्रभावित, घाइते तथा विस्थापित नागरिकप्रति नगरपालिकाले ऐक्यबद्धता जनाएको छ।
विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई धैर्य, साहस र उच्च मनोबलका साथ सामना गर्न आग्रह गर्दै नगरपालिकाले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
आठविसकोट नगरपालिकाले प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
नगरपालिकाले नदी तथा खोला आसपास र अन्य जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र निर्देशनको पालना गर्न आग्रह गरेको छ।
साथै विपद्को समयमा अपुष्ट सूचना तथा अफवाहमा विश्वास नगर्न र एकअर्कालाई सहयोग गर्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ। प्रेस विज्ञप्तिमा कार्यवाहक नगरप्रमुख धनकुमारी शाहीले हस्ताक्षर गरेकी छन्।

प्रतिक्रिया